‘होस्टेल ३’को ‘मनमा अनौठो’ (भिडियोसहित)

काठमाडौं,
माघ १८ ।

आगामी फागुन २३ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘होस्टेल-३’को गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ । शुक्रबार बिहान सार्वजनिक गीतमा चलचित्रका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड हुनुहुन्छ ।

गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको रहेको छ भने रेश्मा पुन र उकेश रावलको स्वर छ । यसको भिडियोको कोरियोग्राफी प्रवीण सिंहले गर्नुभएको छ । गीतले किशोर-किशोरीको प्रेमलाई झल्काउँछ । यसअघि यस चलचित्रको पहिलो गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको थियो । सो गीत युट्युबमा नेपाल ट्रेन्डिङको १६औँ स्थानमा रहेको छ भने नेपालीहरूको बसोबास रहेका अन्य केही देशहरूमा पनि ट्रेन्डिङमा छ ।

‘होस्टेल-३’ नेपालको चर्चित चलचित्र शृंखला ‘होस्टेल’ को तेस्रो संस्करण हो । चलचित्रको निर्देशन सशान कँडेलले गर्नुभएको छ भने स्क्रिप्ट माधव शर्माले लेख्नुभएको छ । कथा निर्देशक कँडेलकै हो । यसमा क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइला क्षणहरूको कथा रहेको छ ।
चलचित्रमा पारस र सिम्रनसहित रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी र समा पराजुलीको प्रमुख अभिनय छ । यसमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको पनि अभिनय छ ।

सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्मस्सँगको सहकार्यमा निर्माण गरेको चलचित्रमा सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता तथा कार्यकारी निर्मातामा शंकर कोइराला हुनुहुन्छ । सहनिर्मातामा शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनिश सिग्देल तथा लाइन प्रोड्युसरमा कोसिसराज क्षेत्री रहनुभएको छ ।

अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदीप कुँवर मुख्य सहायक निर्देशक, यमप्रसाद ओली प्रोडक्सन डिजाइनर रहनुभएको यो चलचित्रका संगीतकारहरूमा अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल हुनुहुन्छ । चलचित्रमा विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन, राकेश दाहालको पोष्टर डिजाइन छ ।

यो चलचित्र फागुन २३ गते नै नेपालबाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनमा आउने तयारी छ । नेपाल वितरक आरआर फिल्मस् र काफिया फिल्मस् हुन् ।

यसमा तपाइको मत

अन्य समाचार