शुभमुहूर्तसँगै छायांकनमा ‘सोल्टिनी’

काठमाडौं,
पुस २४ ।

चलचित्र ‘सोल्टिनी’ को छायांकन प्रारम्भ भएको छ । मंगलबार इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा शुभमुहूर्त गर्दै ३१ दिनको तालिकासहित छायांकन प्रारम्भ भएको निर्देशक अर्जुन सुवेदीले जानकारी दिनुभयो ।

अभिनेता प्रकाश सपुत, अभिनेत्रीद्वय परीक्षा लिम्बु र सब्बु गुरुङ तथा कलाकार सुन्दर धितालले मन्दिर परिसरमा नै चलचित्रका लागि पहिलो र महत्त्वपूर्ण शट दिनुभएको थियो । यो चलचित्र इलाम तथा भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यमा छायांकन हुनेछ ।

चलचित्रमा प्रकाश सपूत, विल्सन विक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगातका कलाकारको अभिनय रहने जनाइएको छ । सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’को मुख्य भूमिका निभाउने चलचित्र घोषणामा नै बताइएको थियो । यो जोडी पहिलो पटक एकसाथ पर्दामा देखिन लागेको हो ।

यो चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ । साथै, दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि यसको मुख्य आकर्षण रहनेछ ।

चलचित्रको सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिनुभएको छ भने छायांकन सुशन प्रजापतिले गर्दै हुनुहुन्छ । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईं हुनुहुन्छ ।

ट्राइडेन्ट कन्सेप्टले पब्लिसिटी डिजाइन गर्नेछ भने आरआर फिल्मस् प्रा.लि.ले नेपाल र नेपसिनेले विदेश वितरण गर्नेछन् । डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार