बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सवमा कोशी प्रदेशका पाँच कलाकारलाई सम्मान

बिर्तामोड,
मंसिर १२ ।

नेपाल चलचित्रकर्मी संघको कोशी प्रदेश शाखाले आयोजना गरेको ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव’ सम्पन्न भएको छ । झापाको बिर्तामोड नगरपालिका-५, धर्मकाँटा रोडमा एक सातासम्म महोत्सव चलेको हो ।

समापन समारोहमा कोशी प्रदेशका पाँच जना वरिष्ठ कलाकारलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा प्रेम सुब्बा, हेमन्त बुढाथोकी, विजय केरुङ, केशव रायमाझी र विपिन प्रसाईं रहनुभएको छ ।

महोत्सवमा अभियान कार्यशाला सञ्चालन गरियो । कार्यशालामा झापाका ३० जना सहभागी थिए । ‘प्रेमगीत ३’ र ‘खजुरे ब्रो’ चलचित्रका कलाकार मनिष राउतले सहभागीलाई अभिनय कला सिकाउनुभएको थियो ।

महोत्सवमा कोशी प्रदेशमा निर्माण भएका र स्थानीय कलाकार समावेश सात कथानक चलचित्र स्क्रिनिङ पनि गरिएको थियो । ‘माङेना, वानर सेना, लिलामे माइला, नालापानी, कृष्णलीला, बिहेपास र चारदाम’ थिए ।

समापन समारोहमा यी चलचित्रका निर्मातालाई कदर सम्मान गरिएको थियो । आयोजक संस्थाका अध्यक्ष केवल तामाङले महोत्सवमार्फत कोशी प्रदेशका सिनेमालाई पर्यटनसँग जोडेर प्रवर्द्धन गर्न प्रयास गरिएको बताउनुभयो ।

महोत्सवले झापा जिल्लामा चलचित्र तथा पर्यटनको महत्वलाई बढाउन योगदान गरेको संघका वरिष्ठ उपाध्यक्ष सुबास मेचेले बताउनुभयो । महोत्सवले प्रदेशको सांस्कृतिक एवम् कलात्मक पहिचान उजागर गर्न मद्दत गरेको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार