‘अकुपेन्सी’ बढाउँदै ‘ज्वाइँ साब’

काठमाडौं,
असोज २९ ।

चलचित्र ‘ज्वाइँ साब’ले विस्तारै ‘पिकअप’ लिइरहेको निर्माणपक्षले जनाएको छ । सुरुका दुई दिन राम्रो अकुपेन्सी नदेखिए पनि त्यसपछि विस्तारै ‘ज्वाइँ साब’ हेर्ने दर्शकको सङ्ख्या बढेको निर्देशक वसन्त निरौलाले जानकारी दिनुभयो ।

‘सुरुमा हामीले शो टिकाउन सकेनौँ । बुकिङ धेरै नहुँदा शो घट्यो । तर दुई दिनपछि जति शो पाएको छ, त्यसमा दर्शकको अकुपेन्सी बढेर ८० प्रतिशतसम्म पुगेको छ’, निर्देशक निरौलाले भन्नुभयो ।

‘ज्वाइँ साब’का मुख्य कलाकार जितु नेपाल पछिल्ला दिनमा सिनेमाले राम्रो अकुपेन्सीमा चलिरहेको बताउनुहुन्छ । ‘म विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छु’, उहाँले भन्नुभयो, ‘उत्साहजनक रूपमा दर्शकको उपस्थिति भइरहेको छ । सिनेमा हेरेर दर्शकले राम्रो रहेको बताइरहनु भएको छ ।’

निर्माणपक्षले बक्सअफिस कलेक्सन भने सार्वजनिक गरेको छैन ।

काठमाडौं उपत्यकामा क्यूएफएक्सले शो बाँडफाँट गर्दा ‘१२ गाउँ’ले २२ शो पाउँदा ‘ज्वाइँ साब’ले २१ शो पाएको थियो । फूलपातीका दिन ‘ज्वाइँ साब’, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा-५’ एकै दिन रिलिज भएका थिए ।

वसन्त निरौला निर्देशित ‘ज्वाइँ साब’मा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा हुनुहुन्छ । बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, सन्दीप क्षेत्री, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य (काकु), राजकुमार पण्डित, निमा पाण्डे, कमलमणी नेपाल, प्रकाश घिमिरेलगायतको पनि यो चलचित्रमा अभिनय छ ।

रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको यो चलचित्रका कार्यकारी निर्माता विजय बस्याल हुनुहुन्छ ।

चलचित्रमा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेल र महेश ताम्राकारको सङुगीत, श्याम तामाङको छायांकन, सविन अधिकारीको कथा, सन्देश शाहको सम्पादन तथा सञ्जय थापाको एक्सन छ ।

यसमा तपाइको मत

अन्य समाचार