काठमाडौं,
असोज १२ ।
हाल देशभर मनसुनी वायुसँगै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । जसको प्रभावस्वरुप यतिबेला देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ । यतिबेला (शनिबार बिहान) देशभरका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने छ ।
कोशी, मधेस बागमती, गण्डक र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना छ ।
आज राति पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेस र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।






