काठमाडौं,
असोज ९ ।
यही असोज २४ गते फूलपातीको दिनदेखि सिनेमाघरमा आउन लागेको चलिचत्र ‘ज्वाइँ साब’ यतिबेला चर्चामा छ । पोस्टर, टिजर र गीत ‘कसम बत्तीको’को चर्चा चुलिरहँदा चलचित्रको क्लाइमेक्सको दृश्य बाहिरिएको छ ।
सार्वजनिक दृश्य त्रिभूवन विमानस्थलको रहेको छ । जहाँ चलचित्रका प्रमुख कलाकार जितु नेपाल बरखी बारेको सेतो पहिरनमा हातमा बच्चा बोकेर हिँड्दै गरेको देखिनुभएको छ । उहाँले निलो ब्याग, पासपोर्ट पनि बोक्नुभएको छ । उहाँको पछाडि चलचित्रकी नायिका निती शाह खादा र नेपालको झण्डा बोकेर भावुक मुद्रामा उभिनुभएको छ । भिडियोमा जितुलाई बिदाई गरेर निती हिँडेको देख्न सकिन्छ । दृश्य निकै मर्मस्पर्शी छ । यो दृश्यले विमानस्थलमा आफन्तको बिदाईमा उपस्थित मानिसहरूको प्रतिनिधित्व गरेको छ ।
भिडियोमा चलचित्रका निर्देशक वसन्त निरौला क्यामरा विभागको टिमसँग देखिनुभएको छ । दृश्य हेर्दा जितु वैदेशिक रोजगारीका लागि नेपाल छोड्न लागेको बुझ्न सकिन्छ । तर, उहाँले के कारणले नेपाल छोड्न लाग्नुभयो भन्ने प्रष्ट खुलिसकेको छैन । त्यो थाहा पाउन फूलपाती नै कुर्नुपर्ने हुन्छ ।
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, दीपक आचार्य ‘काका’लगायतका कलाकारको पनि अभिनय छ ।






