काठमाडौं,
भदौ २२ ।
नमराज ढुँगाना र सरिता भारतीको युगल स्वरमा लोकदोहोरी काठे गीत ‘नगर दोमन’ सार्वजनिक गरिएको छ । नमराजकै अफिसियल युट्युव च्यानलमार्फत गीतको भिडियोलाई सार्वजनिक गरिएको हो ।
नवीनबाबु विश्वकर्माको शब्द रचना/सङ्गीत र विष्णु तामाङको सङ्गीत संयोजन रहेको गीतमा सागर पुनको रेकर्डिङ र कुमार पुनको मिक्सिङ तथा मास्टरिङ छ ।
डब्बु क्षत्रीको निर्देशन रहेको गीतको भिडियोमा अभिनेता गजित बिष्ट र गायिका भारती शीर्ष भूमिकामा हुनुहुन्छ । भिडियोमा गजित र सरितासँगै मनिषा श्रेष्ठ, नकुल गिरी, सम्झना पोखरेल, सुरेन्द्र गिरी, सुदन थापा, सुहानी श्रेष्ठ, बिक्रम ढुँगानाको पनि अभिनय छ ।
दोहोरी गायन प्रतिस्पर्धा शैलीमा गीतको भिडियो तयार गरिएको छ । यो गीतको भिडियोको छायांकन पोखराको मनोरम दृष्यमा गरिएको छ । सुवास सुवेदीको छायांकन, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन, राजेश थापामगरको ड्रोन, सुदन थापाको निर्माण व्यबस्थापन यो गीतको भिडियोमा छ ।
सय भन्दा बढी काठे गीत गाउनुभएका नमराजसँग काठे गीतमा गायिका सरिता भारतीको यो पहिलो सहकार्य हो । यसअघि ‘असारैमास’ लोक दोहोरी काठे गीत ल्याउनुभएकी गायिका सरिताको यो दोस्रो काठे भाकाको दोहोरी गीत हो ।






