काठमाडौं,
भदौ ५ ।
प्रथम महिला श्रीमती राधिका शाक्यको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित विशेष समारोहबीच नेपाल प्रहरी श्रीमती संघको ४०औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । प्रथम महिला शाक्यले पानसमा दीप प्रज्वलन गरी उद्घालटन गर्नुभएको उक्त कार्यक्रममा उहाँले संघबाट प्रकाशित वार्षिक स्मारिका ‘सहचरी २०८१’ को विमोचन समेत गर्नुभयो ।
उक्त अवसरमा प्रथम महिला शाक्यले निस्वार्थ सेवाभावले सामाजिक सेवाको विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्यावउनुहुने वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोईराला, आमाको घरका संस्थापक दिल शोभा श्रेष्ठ र फोटो पत्रकार तथा पर्वतारोही पूर्णिमा श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्नुभयो ।
सो अवसरमा प्रथम महिला शाक्यले समाज सेवाका विभिन्न क्रियाकलापमा नेपाल प्रहरी श्रीमती संघले आफ्नो क्षमता अनुसार पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य, प्राकृतिक प्रकोप पीडितको सेवा लगायत विविध क्षेत्रमा संघले विशेष योगदान पुर्याहएको चर्चा गर्दै आउँदा दिनमा अझ सक्रियताका साथ अगाडि बढ्न उहाँले शुभकामना समेत दिनुभयो ।
समारोहमा विशिष्ट अतिथि मुख्य सचिव लिलादेवी गड्तौलाले समाजसेवी स्नेह केन्द्र दोलखाका अध्यक्ष सृजना कार्की र दृष्टि फाउण्डेसन नेपाल धनगढी कैलालीका कल्पना भट्टलाई सम्मानपत्र प्रदान गर्नुभयो । सो अवसरमा मुख्य सचिव गड्तौलाले नेपाल प्रहरीसँग आवद्ध भएर श्रीमती संघले मानवीय सेवामा उल्लेखनीय कार्य गर्दै आइरहेको चर्चा गर्दै संघले नागरिकको हित तथा सुविधा अभिवृद्धि गर्नका साथै लोककल्याणकारी कार्यहरूमा थप उदाहरणीय कार्य गर्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य सरिता भुसालले मानवीय सेवा नै सबै भन्दा ठूलो धर्म भएको चर्चा गर्दै सीमित स्रोत साधनको प्रयोग गरी संघले जनताको सेवामा समर्पित भएर अमूल्य योगदान पुर्यागएको चर्चा गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, नेपाल पुलिस क्लबका राष्ट्रिय भलिबल खेलाडी उषा भण्डारी र प्रहरी सहायक हवल्दार पवित्रा खड्कालाई सम्मानपत्र प्रदान गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विभिन्न संघसंस्थाको समन्वय र सहकार्यमा समाजमा देखा परेका नवीनतम् समस्याहरूको समाधान सँगसँगै सकारात्मक भावनाको विकासमा समेत अभिवृद्धि गर्न सकिने हुँदा आगामी दिनहरूमा थप समन्वय र सहकार्यको क्षेत्र पहिचान गरी संघले सेवा नै घर्म हो भन्ने मूल मन्त्रलाई सार्थकता प्रदान गर्नका निमित्त शुभकामना दिनुभयो । प्रहरी कल्याणकारी क्षेत्रमा संघले गरेको समर्पण प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले नेपाल प्रहरीका परिवारजनहरूमा मात्र केन्द्रीत नभई हर भूमिका र जिम्मेवारीमा विविध सामाजिक एवम् मानवीय सेवा प्रवाह मार्फत आम सर्वसाधरणसम्म अनवरत रूपमा पुर्याएको योगदानले समग्र नेपाल प्रहरी प्रतिको परेको सकारात्मक छवि अभिवृद्धिका लागि संघको प्रशंसा समेत गर्नुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको कार्यमा समाजमा व्याप्त चुनौति, हिंसाका स्वरूप र अपराधविरूद्ध सचेतनामूलक कार्यक्रम र परोपकारी कार्यक्रमको निरन्तरता र नेपाल प्रहरीका परिवारका लागि थप कल्याणकारी क्षेत्रको पहिचान गरी कार्य योजनामा समेत समावेश गरेर कार्यान्वयनमा ल्याई कल्याणकारी एवम् सेवामुखी संस्थाको रूपमा आफ्नो छवि प्रदर्शनमा थप सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
समारोहमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले नेपाल प्रहरी श्रीमती संघले सामाजिक क्षेत्रमा पुर्याएको सेवाको प्रशंसा गर्दै आगामी दिनमा संघले प्रवाह गर्ने सेवालाई अझ फराकिलो एवम् प्रभावकारी बनाउँदै जाने कुरामा जोड दिनुभयो ।
उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले नेपालभर रहेका प्रहरी विद्यालयहरूमध्ये एसईई परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल नेपाल पुलिस स्कुल साँगाका समादेशक प्रहरी नायव उपरीक्षक मीनबहादुर कुँवर र नेपाल पुलिस स्कुल सामाखुशीका प्रधानाध्यापक रामप्रसाद भुसाललाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
साथै उहाँले २०८० सालको एसईई परीक्षामा प्रहरी विद्यालयहरूबाट सर्वोत्कृष्ट अंक ल्याउन सफल नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकमा अध्ययनरत सम्भव अधिकारी तथा नेपाल प्रहरी स्कुल सामाखुशीमा अध्ययनरत प्रशान्त केसी, श्रेया जोशी र प्रशान्त कार्कीलाई प्रशंसापत्र एवम् नगद पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले संघका विभिन्न कार्यहरूमा सहयोग पुर्यााउने महानुभाव एवम् प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
समारोहमा संघकी अध्यक्ष कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै स्थापना कालदेखि संघले गरी आएको सामाजिक, परोपकारी एवम् मानव कल्याणकारी कर्महरू आगामी दिनमा अझ निस्वार्थ भावले सम्पन्न गरी संघलाई मानव भावको उत्कृष्टता केन्द्रका रूपमा विकास गर्न सम्पूर्ण पदाधिकारीहरू मन, वचन र कर्मले दृढ रहेको बताउनुभयो ।
नेपाल प्रहरी श्रीमती संघकी महासचिव अनुश्री पाख्रिनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूद्वारा सहचरी गीत प्रस्तुत गर्नुभएको थियो भने विभिन्न कलाकारहरूद्वारा साँस्कृतिक नृत्य तथा गीति नाटक प्रस्तुत गरिएको थियो । सो अवसरमा संघ तथा प्रदेशद्वारा गरिएका विविध कार्यक्रम तथा गतिविधि समेटिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाल प्रहरी श्रीमती संघका संस्थापक अध्यक्ष बसुन्धारा लामा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव, निजामती कर्मचारी श्रीमती संघकी कार्यवाहक अध्यक्ष, सैनिक श्रीमती संघकी कायम मुकायम अध्यक्ष, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष लगायत तीन वटै संघका पूर्व अध्यक्ष तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू एवम् आमन्त्रित अतिथिहरूको समेत उपस्थिति थियो ।






