काठमाडौं,
साउन ३१ ।
प्रदीप खनालले एकै वर्षमा ४५० वटा तीर्थस्थल भ्रमण गरेर आफू ‘विश्वमै पहिलो’ व्यक्ति भएको बताइरहनुभएको छ । काठमाडौं कलंकीका खनाल गत जुलाई अन्तिममा ४५० वटा तीर्थस्थल भ्रमण पूरा गरेपछि एकाएक चर्चामा आउनुभएको हो ।
भारतको मणिस्तान शिव मन्दिरको अन्तिमपटक भ्रमण गरेर नेपाल फर्केपछि खनालले आफूले ४५० औं तीर्थस्थल यात्रा सम्पन्न गरेको बताउनुभयो । ‘यो कठिन भ्रमण पूरा गर्दा सनातनी धर्मगुरुहरूले मलाई विश्वमै पहिलो व्यक्ति ठान्दै बधाई दिइरहनुभएको छ’, उहाँले भन्नुभयो ।
छोटो समयमा ४५० तीर्थस्थलको भ्रमण गरी फर्किनुभएका खनाल ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा आफूलाई दर्ज गर्न प्रयासरत् हुनुहुन्छ । ‘त्यसका निम्ति गर्नुपर्ने कार्यहरूको तयारी गरिरहेको छु, हेरौं सफल हुन्छु भन्ने लागेको छ,’ खनालले भन्नुभयो ।
खनाल धार्मिक तथा सांस्कृतिक अभियन्ता हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय मैत्री समाजका अध्यक्ष पनि हुनुहुन्छ ।
धार्मिक(सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न भनी सुरूमा नेपालबाट तीर्थयात्रामा निस्किनुभएका खनालले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र चीनको तिब्बत गरी छ वटा राष्ट्रका ४५० तीर्थस्थलको भ्रमण सकाएको बताउनुभयो ।
उहाँले सन् २०२३ को जुलाई महिनामा पशुपतिनाथको दर्शन गरी यात्रा प्रारम्भ गर्नुभएको थियो । सुरूमा भ्रमणमा निस्किँदा उहाँले ५२ शक्तिपीठ र १२ ज्योतिर्लिङ्गको दर्शन गर्ने लक्ष्य राख्नुभएको थियो ।
तर, ती तीर्थस्थल भ्रमण गरेपछि उहाँलाई थप ऊर्जा प्राप्त भयो । ‘यो भ्रमणले मलाई विश्वका सबै प्रसिद्ध धार्मिकस्थलको दर्शन गर्ने प्रेरणा जगायो,’ उहाँले भन्नुभयो, ‘त्यसपछि म आफ्नो यात्रामा एकाग्र भएर लागें ।’
खनालले चार वटा आदि शक्तिपीठ, १८ वटा महाशक्तिपीठ, ५२ वटा शक्तिपीठ, १०८ वटा सिद्धपीठ, चार धाम, सप्तपुरी, बारा ज्योतिर्गलिङ्ग, बुद्ध धर्मका १३ तीर्थस्थल, सिख धर्मका ११ वटा, अन्य २३ ठाउँ मानसरोबरदेखि कन्याकुमारी, पर्शुराम कुण्डदेखि अमरकन्टक, पाकिस्तानको हिङ्गलाज शक्तिपीठको अनिलकुण्डसम्म पुगेर स्नान गर्नुभएको छ ।
यस्तै, पाकिस्तानकै कटासराजको ६ हजार वर्ष पुरानो शिवलिंग, नैनासारान्याको चक्रवर्ती प्रयागराजको त्रिदेवीसम्म दर्शन गरेको खनालले बताउनुभयो ।
यसैमा खनालले भगवान शिवकी पत्नी सतीदेवीको अंग पतन भएका ११६ तीर्थस्थलको भ्रमण गरेको बताउनुभयो । विश्वमा सतीदेवीको अंग पतन भएका ठाउँबारे विवाद छन् ।
सतीदेवीको अंग पतन भएका तीर्थस्थल कतै १८, कतै ६, कतै ५२, कतै ७६ र कतै १०८ वटा हुन् भन्ने दाबी गरिँदै आएको छ । तर, आफूले ११६ ठाउँमा सतीदेवीको अंग पतन भएको नयाँ तथ्य पत्ता लगाएको बताउनुभयो ।
‘मैले दाबी गरेको कुरा सबैलाई पत्यार नलाग्न पनि सक्छ, तर तीर्थस्थलको भ्रमणमा मैले ११६ ठाउँ सतीदेवीको अंग पतन भएको पाएँ,’ खनालले भन्नुभयो ।
४५० तीर्थस्थलको भ्रमण पूरा गर्दा उहाँलाई मंगेश भागवत र श्रीडिकी विनिता लेप्चाले साथ दिनुभएको थियो । ‘उहाँहरूको योगदान म कहिल्यै पनि भुल्न सक्दिनँ, उहाँहरूप्रति म कृतज्ञ छु,’ खनालले भन्नुभयो ।
भ्रमण पूरापछि उहाँले आगामी सन् २०२५ फेब्रुअरी महिनामा बनारसमा तीन दिने शिवशक्ति समागम अनुष्ठानको आयोजना गर्न लाग्नुभएको छ ।
उक्त अनुष्ठानमा कम्तीमा ५२ शक्तिपीठ, १२ ज्योतिर्लिङ्ग, चार धाम र विश्वका महत्वपूर्ण धामका गुरुहरूलाई बोलाउने तयारी उहाँको छ ।
खनालले यो तीर्थयात्रा नेपालको धार्मिक पर्यटन प्रवर्द्धन तथा विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउनका निम्ति गरेको बताउनुभयो । ‘नेपालमा जति पनि पर्यटकीय क्षेत्र छन् ती ८० प्रतिशत धार्मिक तीर्थस्थल हुन्, बाँकी २० प्रतिशत अन्य जलशक्ति तथा प्राकृतिक क्षेत्र छन्,’ खनालले भन्नुभयो, ‘यो ८० प्रतिशत धार्मिक पर्यटनलाई सरकारले कसरी सदुपयोग गर्छ हेर्न बाँकी छ ।’
भ्रमणका क्रममा आफूले सात वटा राष्ट्रका प्रमुखहरूसँग नेपालको धार्मिक पर्यटन विकास र श्रीवृद्धिबारे कूटनीतिक रुपमा भेटेर कुराकानी गरेको खनालले बताउनुभयो ।
‘एक वर्षको यात्राको पूर्णता आफूले व्यक्तिगत लगानीमा सम्भव पारेको खनालले बताउनुभयो ।
यो यात्राका क्रममा आफूले अन्तर्राष्ट्रिय मैत्री समाज नेपालकी सचिव सिर्जना तिम्सिना र शंकर धाम नेपालका प्रवक्ता विजयकुमार पन्तबाट महत्वपूर्ण सहयोग पाएको उहाँको भनाइ छ ।
खनालले भारतका प्रसिद्ध आदि जगत गुरु शंकराचार्य र गुरु नानक देवको कारण आफूले तीर्थयात्रामा प्रेरणा पाएको भन्दै उहाँहरूप्रति उच्च सम्मान रहेको बताउनुभयो ।






