हेटौडा,
साउन ८ ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले मंगलबार (आज) लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । आज नै उहाँले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको दाबी पेस गर्नुभएको थियो ।
नेपाली कांग्रेस बागमती संसदीय दलका नेता समेत रहनुभएका लामाले एमालेका २७ र कांग्रेसको ३७ गरि ६४ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
आइतबार माओवादी नेतृत्वका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न सूचना जारी गरेको थियो ।
एमाले र कांग्रेसको समर्थनमा दाबी पेस गरेका लामालाई प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा नियुक्त गरेको हो ।
नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूको समथ बुधबार बिहान हुने प्रदेश प्रमुख यादवचन्द्र शर्माले जानकारी दिनुभयो । १३ मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्री र अर्थ मन्त्रालयसहित सात वटा लिने सहमती भएको छ भने एमालेले भौतिक सहित ६ मन्त्रालय लिने सहमती भएको छ ।
एमालेले प्रदेश सरकारमा जाने सबै मन्त्री र उनीहरूको विभाग टुंग्याउँदा कांग्रेसले भने हालसम्म मुख्यमन्त्री बाहेक अन्य मन्त्रीको नामको समेत टुंगो लगाउन सकेको छैन ।






