भोजपुर,
असार ३१ । भोजपुरको पौवादुङमा गाउँपालिकाले आफ्नो पालिका गान तयार पारेको छ । शनिबार १५ औं गाउँसभाका अवसरमा पालिकाले पालिका गान सार्वजनिक गरेको हो । गान सार्वजनिक गर्दै पालिका अध्यक्ष किरण राईले पौवादुङमा गाउँपालिकाको पौरख र गौरवलाई उजागर गर्ने गरी पालिका गान तयार पारिएको उल्लेख गर्नुभयो । उहाँले साउन १ गतेदेखि पालिकाभित्रका सबै विद्यालय तथा सरकारी कार्यालयहरूमा अनिवार्य रूपमा राष्ट्रिय गानपछि पालिका गान बजाइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पौवादुङमा गाउँपालिकाले खुल्ला प्रतिष्पर्धाका आधारमा गीत छनोट गरी राष्ट्रिय स्तरमा ख्याति प्राप्त सङ्गीतकार, सङ्गीत संयोजक र गायक/गायिकाकोसहभागितामा पालिका गान तयार पारेको छ । यो हाम्रो गौरव हो ।’
पालिका गान सार्वजनिक समारोहमा गानका रचनाकार, सङ्गीतकार, सङ्गीत संयोजक, गायक/गायिका, छनोट समितिका संयोजक, सदस्य तथा संयोजकलगायतलाई सम्मान गरिएको थियो । पालिका अध्यक्ष किरण राई र उपाध्यक्ष ज्योत्सना राईले गानका रचनाकार जिचेन स्याङतान, सङ्गीतकार वसन्त मुकारुङ, सङ्गीत संयोजक चाँद सिंह, गायक साजन राई, विशाल राई, गायिका सरोज देवान राई, सुनिता सम्यक लिम्बूका साथै गान छनोट समितिका संयोजक प्रा.डा. प्रेम खत्री र गान तयारी समितिका संयोजक कवि तथा प्राज्ञ शशी लुमम्बूलाई नगदसहितसम्मान-पत्र अर्पण गरी सम्मान गर्नुभएको थियो । उक्त अवसरमा पालिकाका उत्कृष्ट कर्मचारी तथा पालिकाका लागि योगदान दिने व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईको सहजीकरणमा सञ्चालित कार्यक्रममा पालिकाका उपाध्यक्ष, छनोट समितिका संयोजक, संयोजक, गानका रचनाकारलगायतलेपौवादुङमा गाउँपालिकाको समग्र पक्ष्का साथैपालिका गानका बारेमा बोल्नुभएको थियो । ललितपुर, महाङ्काल निवासी कवि, गीतकार, अध्यापक, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन विज्ञ जिचेन स्याङतानद्वारा रचित पौवादुङमा गाउँपालिकाको पालिका गान यसप्रकार रहेको छः-
पौवादुङमाली ! हामी पौरखी पौवादुङमाली !
छिन्तालुङ टोपी पौवादुङमाली उँचो यो शिरमा
कर्मठ पाउ सभ्यता-सेतु अरुण तीरमा
बास्तिम, च्याङ्ग्रे, श्यामसिला यी हाम्रा लोचन
तिवारीभन्ज्याङ, दुई दुङमा मुटुका धड्कन
दुङमाली भाषा, बहुल संस्कृति, सुरभि-सौरभ
इतिहास माटो पौवादुङमाको पुर्खाको पौरख
श्रम हो मोती, सिप हो हिरा, खेतबारी चाँदी-सुन
पाखा-पखेरा, पोखरी, जङ्गल ऐश्वर्य तारा-जून
सुरम्य, सुन्दर यो जन्मभूमि छातीमा कुँदेको
पैवादुङमाली हामी हौँ एकै धागोमा गुँथेको ।






