काठमाडौं,
जेठ २ ।
उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा हिजो मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि आज सुनुवाइ हुने भएको हो ।
यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो ।
उक्त मुद्दामा सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी र रमण श्रेष्ठ, शम्भु थापा, मुरारी सापकोटा र कृष्ण सापकोटालगायतले बहस गर्नुभएको थियो । उहाँहरूले दोषी ठहर गर्ने काठमाडौं जिल्ला अदालतको फैसलामाथि प्रश्न उठाउनुभएको छ ।
त्यस्तै, पीडित गौशाला–२६ को तर्फबाट सरकारी वकिल र निजी कानुन व्यवसायीहरूले पनि बहस गरेका थिए । २०८० पुस २५ गते जिल्ला अदालत काठमाडौंले नाबालिग जबर्जस्ती करणी मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।






