काठमाडौं,
वैशाख १९ ।
१३ औं संस्करणको क्विन्स वर्ल्ड फिल्म फेस्टिभल-२०२४ मा नेपालका सिनेमाटोग्राफर रविन आचार्यले दुई अवार्ड हात पार्नुभएको छ । उहाँले ‘रोटन ब्लड’ सिनेमाबाट स्पेसल मेन्सन (सिनेमाटोग्राफी) अवार्ड र ‘मनु’ सिनेमाबाट फाउन्डर चोइस अवार्ड प्राप्त गर्नुभएको हो ।
बेस्ट सिनेमाटोग्राफीमा मार्सेल लोबेनविनको कोडा, लिओ काल्जोनीको सिएला, स्कट टी समर्सको मिरान्डा अफ माइन्ड र विलियम मुरेको द डार्क फरेस्ट सँगको प्रतिस्पर्धामा आचार्यले उक्त अवार्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो ।
यसभन्दा अगाडि आचार्यले छायांकन गरेको नेपाली कथानक चलचित्र ‘डाइङ क्याण्डल’ले क्विन्स वर्ल्ड फिल्म फेस्टिभल– २०१६ मा उत्कृष्ट सिनेम्याटोग्राफीको अवार्ड जित्नुभएको थियो ।
‘डाइङ क्याण्डल’ चलचित्रको विधामा अध्यापन गराउने विश्वकै उत्कृष्ट मानिएको अमेरिकाको विश्वविद्यालय ‘युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया स्कुल अफ सिनेम्याटिक आर्टस’ मा विशेष प्रदर्शनीसमेत भएको थियो।
नेपाली रजतपटमा चलचित्र निर्माता तथा क्यामेराम्यानको रूपमा उदाउनुभएका उहाँले कलात्मक चलचित्रले मात्र समाजको यथार्थ उजागर गर्न सक्छ भनेर आफ्नै कम्पनी नेसनल मिडिया प्रोडक्सन प्रालिको ब्यानरमा चलचित्र ‘डाइङ क्यान्डल’को निर्माण एवं छायांकन गर्नुभएको थियो ।
आचार्यको कामको तारिफ गर्दै नेपाल चलचित्र विकास बार्डले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट सिनेम्याटोग्राफरको अवार्ड प्राप्त गरेका आचार्यलाई बधाई तथा सम्मान पत्र प्रदान गरेको थियो ।
उहाँ डी सिने डायस्पोरा अवार्ड-२०१६, बेष्ट सिनेमाटोग्राफी फान फिल्म अवार्ड-२०१७, बेष्ट सिनेमाटोग्राफी कामना फिल्म अवार्ड-२०१७, बेष्ट सिनेमाटोग्राफी इनास फिल्म अवार्ड-२०१७, जुरी अवार्ड एनएफडिसी नेसनल फिल्म अवार्ड-२०१७, बेष्ट सिनेमाटोग्राफी अवार्ड सिंगापुर साउथ एसियन इन्टनेशनल फिल्म फेस्टिभल-२०१८ बाट सम्मानित भइसक्नु भएको छ ।
विधागत रूपमा अरू थुप्रै सम्मान तथा अवार्ड पाइसक्नुभएका आचार्यले नेपाली कथानक चलचित्र ‘धूलो, केटिएम कक्टेल, चंगा, चक्कर, जयश्री दाम’, लगायतका सिनेमा छायांकन गर्नुभएको छ ।
साथै उहाँले युरोपियन फिल्मस् कम्पनी लासराज पिक्चर्सद्वारा निर्माण तथा इटालियन निर्देशक सर्जियो वासोद्वारा निर्देशित ‘सरिता–टेल मी हु आइ एम’ फिल्म पनि सफलतापूर्वक छायांकन गरिसक्नुभएको छ ।
अस्कर कलेज अफ फिल्म स्टडिजबाट छायांकन विधामा स्नातक हासिल गर्नुभएका आचार्यले २०२२ मा राष्ट्रपति विद्या भण्डारीको हातबाट राष्ट्रिय विशेष चलचित्र अवार्ड पनि हात पार्नुभएको थियो । उहाँले ‘टेल मी हु आइ एम (सरिता)’बाट उक्त अवार्ड हात पार्नुभएको हो ।
नेपाल चलचित्र प्राविधिक संघमा तीन वर्ष कार्यकारी सदस्यको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएका आचार्य नेपाल चलचित्र निर्माता संघका सक्रिय सदस्य पनि हुनुहुन्छ ।
झण्डै दशकभन्दा बढी समयदेखि चलचित्र क्षेत्रमा सक्रिय हेटौंडा-९, मकवानपुर स्थायी घर हुनुभएका रविन आचार्य एक कुशल प्राविधिकका रूपमा स्थापित हुनुहुन्छ ।
हेटौंडाको प्रगति माविबाट एसएलसी पास गरी हेटौंडाकै हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सबाट प्लस टू सकेर २०६१ सालमा काठमाडौं प्रवेश गर्नुभएका रविनले आफ्नो अध्ययनसँगै पेशागत करिअरलाई पनि अगाडि बढाउनुभएको थियो ।
आरआर क्याम्पसबाट मास कम्युनिकेसन एण्ड जर्नालिजममा फोटोग्राफी विषयमा स्नातक पूरा गर्नुभएका उहाँले विभिन्न टेलिभिजनमा लामो समय क्यामेराम्यान भएर काम गर्नुभएको छ ।
सानैदेखि कला क्षेत्रमा रुचि राखेर अगाडि बढेका आचार्यले आइसिटी नेपालले निर्माण गरेको नेपाल टेलिभिजनको कार्यक्रम ‘इन्टर’मा कोअर्डिनेटर र क्यामेराम्यानको रूपमा तीन वर्षभन्दा बढी समय बिताउनुभएको थियो ।
कला क्षेत्रमा केही गर्नुपर्छ भनेरै आचार्यले अस्कर कलेज अफ फिल्म स्टडिजबाट छायांकन विधामा स्नातक गर्नुभएको थियो ।
नेपाल चलचित्र निर्माता संघका सक्रिय सदस्य रहनुभएका आचार्यले विभिन्न सर्टमुभी, डकुमेन्ट्री तथा म्युजिक अवार्डको कार्यक्रममा निर्णायकको भूमिका निर्वाह गर्नुभएको छ ।






