काठमाडौं,
चैत २० ।
नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित हुनुभएको छ । काठमाडौंमा आयोजित संघको ४९औं वार्षिक साधारणमा भएको कार्यसमिति निर्वाचनमा उहाँले प्रत्याशी कुवेर शर्मालाई पराजित गर्दै निर्वाचित हुनुभएको हो ।
महर्जनले शर्मालाई ६० मतले पछि पर्दै निर्वाचित हुनुभएको थियो । महर्जनले १०६ मत प्राप्त गर्दा शर्माले ४६ मत प्राप्त गर्नुभएको थियो । साधारणसभाबाट सदस्यहरूमा करण श्रेष्ठ, गोपालकाजी कायस्थ, देवेन्द्र खड्गी, गोविन्द शाही, प्रज्वल राणा, ओमप्रकाश जैसी, आशिष तामाङ, छविराज ओझा, कपिलप्रसाद द्धा, दिप्रश शाक्य, निरज गुप्ता, राजकुमार श्रेष्ठ, सुरेन्द्र थापा निर्वाचित हुनुभएको छ ।
संघले साधारणसभामा अभिनेता शिव श्रेष्ठ, अभिनेत्री गौरी मल्ल, गायिका देविका बन्दना, निर्माता छविराज ओझा, निर्देशक ज्ञानेन्द्र देउजा, लेखक मौनता श्रेष्ठ, छायांकार मञ्जु श्रेष्ठ, द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, सम्पादक नरेन्द्र खड्का, प्रदर्शक तीर्थ प्रधान र रंग पत्रकार विदुर गिरीलाई सम्मान गरेको थियो । २०१३ सालमा स्थापना भएको चलचित्र संघ चलचित्र क्षेत्रकै सबैभन्दा पुरानो संस्था हो ।






