एक किलो ४५५ ग्राम कोकिनसहित दुई जना ब्राजिलियन नागरिक पक्राउ

काठमाडौं
चैत १६ ।

काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित होटलबाट अवैध लागूऔषध कोकिन १ किलो ४५५ ग्रामसहित २ जना ब्राजिलियन नागरिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो डोस सानटोस र फर्नान्डा भेल डोस सानटोस रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले लारिसनलाई ८४० ग्राम र फर्नान्डालाई ५५० ग्राम अवैध लागूऔषध कोकिनसहित पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा दुवै जनाले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरू निलेर पेटमा लुकाई नेपाल ल्याएको खुल्न आएको छ ।

साथै उनीहरूको पेटमा थप क्याप्सुलहरू हुन सक्ने देखिएकाले तत्काल दुवै जनालाई नेपाल प्रहरी अस्पताल पठाइएकोमा लारिसनको पेटबाट थप ६ वटा प्लाष्टिकले र्‍यापिङ गरिएका क्याप्सुलभित्र कोकिन ६५ ग्राम बरामद भएको हो । बरामद गरिएको अवैध लागूऔषध कोकिनको अवैध बजार मुल्य ४ करोड ३६ लाख ५० हजार रूपैयाँ हुन आउने उक्त ब्यूरोले जनाएको छ ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार