काठमाडौं,
फागुन १० ।
चलचित्र ‘रुमानी रङ्ग’को औपचारिक घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच यो चलचित्रको औपचारिक घोषणा गरिएको हो । अनिल योञ्जनको निर्देशन रहने चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाहसँग धिरज मगरको जोडी बाधिएको छ ।
चलचित्रमा कथा/पटकथा/संवाद निर्देशक योञ्जनकै रहनेछ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रालिको व्यानरमा निर्माण रहने चलचित्रमा जीएम ठकुरी प्रस्तुकर्ता हुनुहुन्छ भने हरि मल्ल ठकुरी निर्माता रहनुभएको छ ।
यसअघि यो टीमले एक्सन थ्रिलर ‘लाखे’ निर्माण गरेको थियो । चलचित्रमा आविस्कार बहुसञ्चार प्रालिको सहकार्य रहनेछ भने अष्ट्रेलियाको लाइन प्रोड्युसरमा डिव्वाइज इन्टटेन्मेन्ट रहेको छ । यो कम्पनीले ‘डमरूको डण्डीवियो’, ‘नेप्टे’, ‘क्यापटेन’ तथा ‘ए मेरो हजुर’लगायतका १० बढी नेपाली चलचित्रको अष्ट्रेलियामा वितरण गरिसकेको छ ।
चलचित्रको ९० प्रतिशत छायांकन अष्ट्रेलियामा हुनेछ भने १० प्रतिशत नेपालमा हुने जनाइएको छ । चलचित्रले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ । निर्माण पक्षले यसलाई रंगीन प्रेमकथा भनेको छ । सिनेमा वैशाखको पहिलो साताबाट फ्लोरमा जानेछ ।
महेश पौडेलको सिनेम्याटोग्राफी रहने यो चलचित्रमा सुशील थापा, श्रीजन बस्नेत, सन्तोष सरु तथा विजय अधिकारी सहनिर्माता हुनुहुन्छ ।






