काठमाडौं,
मंसिर १८ ।
चलचित्र ‘परदेशी २’ले प्रदर्शनको ५१औँ दिन पार गरेको छ । नारायण रायमाझी निर्देशित चलचित्रले शनिवारबाट प्रदर्शनको ५१औँ दिन पुरा गरेको हो । निर्माण युनिटले चलचित्रले ५१ औँ दिन पार गरेको उपलक्ष्यमा केक काट्टै खुसी साटासाट गरेको छ । कार्यक्रममा चलचित्रका कलाकार प्रकाश सपुत, केकी अधिकारी, निर्माता राजेश वंशल, निर्माता छविराज ओझालगायत सहभागी हुनुभएको थियो ।
दशैँको अवसर पारेर असोज २६ गतेबाट प्रदर्शनमा आएको यो चलचित्रमा प्रकाश सपूत, केकी अधिकारी र वर्षा सिवाकोटी मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रले काठमाडौँको अष्टनारायण पिक्चर्स, गोपीकृष्ण मुभिज र आइएनआई सिनेमाज बानेश्वर र उपत्यका बाहिरको बुटवलको मिलन सिनेमा हल, दाङको श्री गणेश सिनेमा हल र भिएफएक्स सिनेमाज, कावासोतीमा रहेको कावासोती सिनेम्याक्स, नेपालगञ्जमा रहेको सिने रोयल, पोखराको श्रीकृष्ण हलमा ५१औँ दिन मनाउन सफल भएको निर्माता राजेश वंशलले जानकारी दिनुभयो ।
मानकृष्ण महर्जनको छायांकन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रमा दीर्घ खड्काको सम्पादन छ ।
चलचित्र नेपालको अलवा यूएई, कतार, इराक, ओमान, बहराइनलगायतका मध्यपूर्वका देशमा प्रदर्शन भइरहेको छ । अमेरिकाको पनि विभिन्न सहरमा चलचित्रको प्रदर्शन सुरु भएको छ । निर्देशक रायमाझी स्वयं नै यतिबेला चलचित्र प्रदर्शनका लागि अमेरिका पुग्नुभएको छ । चलचित्र कोरिया, अस्ट्रेलिया, यूके, हङकङ, न्यूजिल्याण्ड, क्यानडासँगै भारतमा समेत प्रदर्शन हुने तयारीमा रहेको निर्माता वंशलले जानकारी गराउनुभयो ।






