कविता : अल्झिन्छ मन

✍️ अमृत मरहट्टा
काठमाडौं,
भदौ ९ ।

मनले सधैं एक र एक दुई
मात्रै होस् भन्ने चाहन्न
अनि फेरि
जहिल्यै एक र एक दुई
नै हुनुपर्ने कुनै जरुरी पनि छैन ।

त्यसो त
कहिलेकाहीँ मनले एक र एक
एघार भै देओस् भन्ने चाहन्छ
कहिलेकाहीँ एक र एक
एक मात्रै होस् भन्छ
कहिलेकाहीँ त एक र एक
शून्य भए…

यस्तै प्रश्नमा
बिना उत्तर अल्झिन्छ मन
अनि दिमागले भन्छ मनलाई
चाहेको, सोचेको जस्तो
उत्तर पाउनको लागि
तिमीले आफ्नो गणीतमा
मध्यवर्ती चिन्ह बदल्न सक्नुपर्छ ।

तर के गर्नु मनले गणीत जान्दैन
यदि जान्दथ्यो भने मनले
बुझिहाल्थ्यो नि हिसाब किताब
बाँच्नुको ।।

यसमा तपाइको मत

अन्य समाचार