काठमाडौं,
साउन २२ ।
भुवन चैत्य बसुन्धरा फाउण्डेसनले दुई वर्षका ‘भुवन चैत्य वसुन्धरा पुरस्कार एक साथ हस्तान्तरण गरेको छ । आइतबार चलचित्र विकास बोर्डको हलमा आयोजित एक समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ती पुरस्कारहरू प्रदान गर्नुभएको थियो ।
समारोहमा २०७९ सालको हरिश-भुवनचन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी यादव खरेल तथा २०८० सालको हरिश-भुवनचन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी नीर शाहलाई प्रदान गरियो ।
यसैगरी, समारोहमा विशिष्ट सङ्गीतकर्मी गणेश रसिकलाई २०७९ तथा विशिष्ट चलचित्रकर्मी अभिनेता शिव श्रेष्ठलाई २०८० सालको चैत्यदेवी पुरस्कार प्रदान गरिएको थियो ।
यसका साथै, विशिष्ट चलचित्रकर्मी अभिनेत्री मिथिला शर्मालाई २०७९ साल तथा विशिष्ट चलचत्रिकर्मी अभिनेत्री शर्मिला मल्ललाई २०८० सालको चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारको राशि जनही ५१ हजार रुपैयाँ रहेको छ ।
विसं २०७५ सालमा स्थापना भएको भुवन चैत्य वसुन्धरा फाउण्डेशनले नेपाली कला, संस्कृति र रङ्गमञ्च गीत, सङ्गीत साहित्य समाजसेवाका साथै नेपाली चलचित्रको विभिन्न विधाका सर्जक, श्रष्टा र व्यक्तित्वहरूको योगदान र साधनाको सम्मान गर्दै पुरस्कार र सम्मान अर्पण गर्दै आएको छ ।






