आज मुस्लिम धर्मावलम्बीले बकर इद पर्व मनाउँदै, सरकारद्वारा सार्वजनिक बिदा

काठमाडौं,
असार १४ ।

आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) विविध कार्यक्रम गरी मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रही आएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भिड लाग्ने गर्दछ । अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धर्मगुरुहरू बताउँछन् ।

यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, एक भाग आफ्ना इष्टमित्रलाई र अर्को भाग आफूले खानुपर्ने धार्मिक मान्यता छ । हरेक मुस्लिमहरूका लागि जीवनमा एकपल्ट साउदी अरबको मक्का मा हज तीर्थयात्रा गर्न जरुरी मानिन्छ यसका लागि एउटा निश्चित समय तय गरिएको हुन्छ । आजबाट मक्कामा जाने हज तीर्थयात्राको यस वर्षका लागि औपचारिक समापन हुने गर्दछ ।

इद पर्वको अवसरमा नेपाल सरकारले आज (शुक्रबार सार्वजनिक बिदा दिएको छ । ‘इस्लाम धर्मालम्बीहरूको पर्व बकर इद वि.सं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार