काठमाडौं,
असार १३ ।
आज (बुधबार) प्रतिनिधिसभा बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची छ । आज बिहान ११ बजे सङ्घीय संसद भवनमा बस्ने बैठकमा बजेट पारितका लागि पेस गर्ने कार्यसूची रहेको छ ।
गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक पेश गर्नुभएको बजेट बुधबार पारित गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुनेछ ।
सत्तारुढ दलहरूबाटे बजेट संसोधन गर्न र राष्ट्रिय श्रोतको न्यायोचित वितरण गर्न आवाज उठे पनि बजेटमा अहिलेसम्म कुनै संशोधन गरिएको छैन । मंगलबार साँझ कांग्रेस, माओवादी, नेकपा एस र जसपाका नेताहरूबीच बालुवाटारमा भएको छलफलमा असन्तुष्टी सम्बोधन गर्ने सहमति भएको बुझिएको छ ।
तर, असन्तुष्टि सम्बोधन कसरी गर्ने भन्ने खुलाइएको छैन । प्रधानमन्त्री दाहालले बजेट पारित गर्न सत्ता घटका सबै दलहरुलाई आग्रह गर्नुभएको थियो । बजेटप्रति असन्तुष्टि जनाउँदै आएका नेकपा एस, जसपा र जनमत पार्टीको संसदीय दलको बैठक बुधबार बिहान बस्ने तयारी छ ।
नेपाली कांग्रेस र माओवादीले भने मैगलबार नै बजेट पारित गर्न ह्वीप जारी गरिसकेका छन् । बजेटमाथि संसदमा १६ दिनसम्म छलफल भए पनि कुनै उपलब्धि नभएको भन्दै सांसदहरुले नै असन्तुष्टि जनाईरहेका छन् ।
यसैबीच नेपाली कांग्रेसले संसदमा पेस गरिएको आर्थिक २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूमा ह्वीप जारी गरेको छ। गत १५ जेठमा आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गरिएको थियो ।
उक्त विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथिको छलफलपछि निर्णायार्थ प्रस्तुत गर्ने तयारी गरिरहँदा सोमबार कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्ना सांसदहरूलाई उक्त दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्वीप जारी गरेका हुन् ।
उता सरकारकाे नेतृत्व गरेकाे माओवादी केन्द्र को संसदीय दलले बजेटको पक्षमा मत हाल्न ह्विप (निर्देशन) लगाएको छ ।
मंगलबार प्रत्येक सांसदलाई निर्देशन दिँदै बुधबारको प्रतिनिधि सभामा अनिवार्य उपस्थित हुन र बजेटका पक्षमा मतदान गर्न निर्देशन दिएको हो ।
संसदीय दलका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट प्रमुख सचेतक हितराज पाण्डेले निर्देशन जारी गरेका छन् ।
‘प्रस्तुत विषयमा भोलि २०८० असार १३ गते बुधबार आ.व. २०८०/०८१ को विनियोजन विधेयक (वार्षिक बजेटको विनियोजन कार्यक्रम) निर्णयार्थ प्रतिनिधि सभाको बैठकमा प्रस्तुत हुने कार्यक्रम रहेको छ । त्यसैले भोलि असार १३ गतेको प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट) को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवं सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार यो निर्देशन (ह्विप) जारी गरिएको व्यहोरा अनुरोध छ,’ पाण्डेले हस्ताक्षर गरेको ह्विपको पत्रमा भनिएको छ ।






