कविता : खोक्रो आदर्श

✍️ हरि उप्रेती

अमेरिका,
जेठ ३२ ।

मलाई थाहा छ
तिमीलाई पक्कै पनि
आदर्शले जन्माएको होईन महोदय !

न त जन्मदै तिमीले कुनै
आदर्श नै लिएर आयौ
तिमी त केवल रित्तो थियौ
जब तिमीले धर्तीमा पाईला टेक्दा
थाहा छ तिमीलाई ?

जब तिमी हिड्न खोज्थ्यौ
तिम्रा हातहरू अनि
तिमीले चाल्ने पाईलाहरूमा
तिम्रै आमाका हातहरू हुन्थे
अनि यति चाडै बिर्से छौ
तिम्रै बाबाले हात समाएर
लेखाएका बाह्रखरी
भोक लाग्दा
प्यासले छटपटिदा
तिनै आमाले सिकाएकी थिईन
तिमीलाई मानव भएर बाँच्न
भगवान् पनि त छन
सबैको भलो चिताउनुपर्छ
दीन दुखीको सेवामा जुट्नुपर्छ
समाजको उन्नतिमा सधै
रमाउनुपर्छ भनेर आखिर
उनै गुरू माता अनि
पिताले सिकाएका होईनन् र ?

तर आज त तिमी जवानी भए छौ
तिमी आफैँ हिड्न सक्ने भए छौ
भोक, प्यास पनि त आज
आफैँ मेट्न सक्ने भए छौ
भगवानलाई पनि खोज्न सक्ने भए छौ
सायद तिमी आत्मनिर्भर भएर होला
आज फेरि गुरूलाई खोज्दै छौ रे
सक्कली होईन रे उ त
धार्मिक अखण्डता भित्र
सांस्कृतिक विखण्डन ल्याउँदै छौ
हिजोको दर्शन बिर्सेर
आज परम्परामा चल्दै छौ रे
भगवानका सेवा र समर्पणमा
जुटेका तिम्रा हातहरू
आज गरीबका घाउमा
नून चुक लाउन व्यस्त छन रे
यति चाडै बिर्सेछौ
तिमीलाई दिएको दीक्षा
‘वसु दैव कुटुम्बकम’
आज साँच्ची कै जवानी छौ रे
अनि तिमीसँगै छन रे
ती दर्शन अनि निर्णयका ठेलीहरू
त्यसैले होला आज निर्धक्क भएर
तिमीले सिकेको आदर्श
अपनाएको धर्म
पढेको दर्शनलाई
जबरजस्ती समाजमा फाल्दै छौ रे
आखिर जे भो
तर एउटा सत्य चै कहिल्यै नभुल्नु महोदय !

तिमी पनि एक दिन बृद्ध हुनेछौ
अनि तिनै जवानीको साहारामा
बाँच्ने छौ तिमी अनि तिम्रो हातको लट्ठी
त्यसैले त भो अब त्यागी देउ
तिम्रो आडम्बरलाई
किन कि, न त मलाई,
न दीन दुखीलाई
न त समाजलाई खाँचो छ
तिम्रो त्यो खोक्रो आदर्श…!

यसमा तपाइको मत

अन्य समाचार