११ औं नेफ्टा अवार्डको औपचारिक घोषणा, आयोजकलाई ट्रफी हस्तान्तरण

काठमाडौं,
माघ २७ ।

११ औं नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा भएको छ । विहीबार सोल्टी होटलमा आयोजित समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको अमेरिकी संस्करणको घोषणा गर्नुभएको हो ।

नेपाली फिल्म र संगीतकर्मीको बाक्लो उपस्थिती रहेको समारोहमा अवार्डको आगामी संस्करण अमेरिकाको टेक्सासमा जेठ १३ गते (२७ मे, २०२३) मा आयोजना हुने जानकारी दिइयो । सो अवसरमा अवार्डको ट्रफी समेत अनावरण गरिएको थियो । अभिनेता श्रेष्ठले ट्रफी नेफ्टा अध्यक्ष पुष्कर लामा र अध्यक्ष लामाले फेम नेपालका बिमल पछाइ र युएस खबरका ओम आचार्यलाई क्रमशः हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान अवार्डले भूमिका खेल्ने बताउँदै चलचित्रको माध्यमबाट भाषा, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्नु आफूहरूको उद्देश्य रहेको बताउनुभयो ।

नेफ्टा अध्यक्ष लामाले नेफ्टाको उद्देश्य पनि अवार्डमार्फत नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्ने र प्रवद्र्धन गर्नुरहेको बताउनुभयो । नेपाल र अमेरिकाबीचको ७५ औं कूटनीतिक सम्बन्ध स्थापनाको छेकोमा गर्न लागिएको अवार्डले दुई मुलुकबीच सांस्कृतिक र देशीय सम्बन्धलाई प्रगाढ बनाउन भूमिका खेल्नसक्ने बताउनुभयो ।

आयोजक संस्था फेम नेपालका अध्यक्ष बिमल पछाइले नेफ्टा अवार्डमार्फत आफूहरूले हलिउड र बलिउडसँग पनि सहकार्य गरेर संस्कृतिलाई प्रवद्र्धन गर्नु रहेको बताउनुभयो । अवार्डको सर्वश्रेष्ठ अभिनेता र अभिनेत्री विधाको पुरस्कार कुनै एक हलिउड र बलिउड कलाकारले प्रदान गर्नेसमेत उहाँले जनाउनुभयो । टेक्सासस्थित नेपाली समुदायलाई समेटेर झण्डै दुई किलोमिटर लामो नेपाल परेड कार्यक्रममार्फत सांस्कृतिक झाँकी प्रस्तुत गर्न लागिएकोसमेत उहाँको भनाइ थियो ।

अर्को आयोजक संस्था युएस खबरका ओम आचार्यले नेफ्टाले विगतमा कायम राखेको गरिमालाई जोगाउनु चुनौतिपूर्ण हुने बताउनुभयो । उहाँले पनि अवार्ड समारोहमा भारतीय र अमेरिकी फिल्म उद्योगका हस्तीलाई सहभागि गराउन प्रयास हुने बताउनुभयो ।

आर्यन फिल्म्सका प्रमुख तथा निर्देशक रमेश एमके पौडेलले फिल्मको अन्तर्राष्ट्रियमै जोड दिनुभयो । वरिष्ठ अभिनेत्री बसन्धुरा भुसालले पनि अवार्ड सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा गायक प्रेमराजा महत, कलाकारहरू चैत्यदेवी, शिव श्रेष्ठ, रविन्द्र खड्का, दीपाश्री निरौला, साम्राज्ञी शाह, शिल्पा मास्के, पुष्प खड्का, सुशिल श्रेष्ठसहित दर्जनौं कलाकर्मी उपस्थिवत थियो । अवार्डमा २०७९ सालभित्र रिलिज भएका फिल्मले ४२ वटा विधामा प्रतिस्पर्धा गर्ने जनाइएको छ । यसअघि नेफ्टा अवार्ड दुबई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भइसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार