✍️ भूमिकला पौडेल
काठमाडौं,
माघ २७ ।
अपाङ्गता भएका व्यक्तिहरूले राजनीतिक अधिकार प्राप्त गर्नका लागि दलिय स्वार्थ भन्दा माथि उठेर अपाङ्गता आन्दोलनलाई एकजुट भएर अगाडि वढाए मात्रै राजनीतिक अधिकार प्राप्त गर्न सकिने कुरामा एकमत जाहेर गरेका छन् । राजधानीमा अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वाबलम्वन जीवन पद्धति केन्द्र, काठमाडौंले आयोजना गरेको ‘परियोजनाको उपलव्धी र सिकाइ आदानप्रदान कार्यक्रममा’ अपाङ्गता भएका व्यक्तिहरूले सो अभिव्यक्ति जाहेर गरेका हुन् ।
अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वाबलम्वन जीवन पद्धति केन्द्र, काठमाडौंले विगत एक वर्षदेखि नै गत चुनावमा अपाङ्गता भएका व्यक्तिहरू जनप्रतिनिधीको रूपमा भाग लिउन भन्ने उद्धेश्यले राजनीतिक अधिकारका लागि एक विशेष परियोजना सञ्चालन गरेको थियो । जस अन्र्तगत सशक्त रूपमा जनचेतना तथा वकालतका कामहरू गरिरहेको अवस्थामा सो परियोजनाको उपलव्धी र सिकाइ कस्तो रह्यो भन्ने विषयमा जानकारी दिन तथा छलफल गर्नका लागि सो कार्यक्रमको अयोजना गरिएको हो ।
कार्यक्रममा परियोजनाको उपलव्धी र सिकाइका बारेमा जानकारी दिनुहँुदै केन्द्रका महासचिव गणेश केसीले गत मंसिरमा सम्पन्न संघिय तहको निर्वाचनमा ४९ जना र प्रदेश तहको निर्वाचनमा १४९ जना गरी जम्मा १९८ जना अपाङ्गता भएका व्यक्तिहरू विभिन्न राजनितिक दलको तर्फबाट समानुपातिकको सूचिमा पर्न सफल रहेको र सो अभियानमा केन्द्रले पनि योगदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल बार एसोसियसन, गैरसरकारी संस्था महासंघ नेपाल तथा नेपाल आदिवासी जनजाती महासंघका प्रतिनिधीहरूले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार प्राप्तीका लागि आ-आफ्नो तर्फबाट विशेष पहल तथा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको संघसंस्था तथा राजनितिक दलका अपाङ्गता सम्बन्धी जनवर्गिय संगठनका प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।






