काठमाडौं,
माघ ३ ।
सत्तारूढ दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (मंगलबार) मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ भने आज नै नयाँ मन्त्रीहरूको सपथ पनि गराइने छ । दिउँसो १ बजे नयाँ मन्त्रीहरूको सपथको समय तोकिएको छ ।
भागबण्डामा एमालेले आठ वटा मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्रले चार मन्त्रालय पाउने छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले र राप्रपाले तीन–तीन वटा मन्त्रालय पाउने छन् । माओवादी केन्द्र, रास्वपा र राप्रपाले एक–एक राज्यमन्त्री पनि पाउने भएका छन् । जनता समाजवादी पार्टी (जसपा) को भागमा दुई र जनमत पार्टीको भागमा एउटा मन्त्रालय परेको छ ।
स्रोतका अनुसार एमालेको भागमा परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य तथा जनसंख्या र महिला तथा बालबालिका मन्त्रालय परेको छ । एमालेले यस अघि नै अर्थ मन्त्रालय लिइसकेको छ ।
यस्तै, माओवादीको भागमा सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परेको छ । माओवादीले यसअघि भौतिक पूर्वाधार मन्त्रालय लिइसकेको छ ।
गृह मन्त्रालय लिइसकेको रास्वपाले शिक्षा र श्रम मन्त्रालय पाएको छ भने राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाएको छ ।
जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छुट्याइएको छ । जनमत पार्टीले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।
गत पुस ११ गते प्रधानमन्त्रीको शपथ लिनुभएका प्रधानमन्त्री प्रचण्डले तीन सातापछि मन्त्रिपरिषदलाई पूर्णता दिन लाग्नुभएको हो ।






