काठमाडौं,
असोज २१ ।
दशैंको टीकाको तेस्रो दिन पनि आज आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम जारी छ । खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । त्यसैले आज टीकाको तेस्रो दिन पनि टीका लगाउन आउ-जाउ गर्नेहरूको चहलपहल जारी छ ।
नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिनेक्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो र दोस्रो दिन निरन्तरको वर्षाले मान्यजनकहाँ जान नसकेकाहरू आज भने राजधानीमा आकाश खुलेकाले बिहानैदेखि हिँड्न थालेका छन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको असरले वर्षा भएको जनाएको छ । महानवमीदेखि देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै एवम् बाँकी प्रदेशका थोरै स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको महाशाखाको भनाइ छ । राजधानीमा आकाश केही खुलेको देखिए पनि पश्चिम नेपालमा अझै वर्षाको सम्भावना रहेको जनाइएको छ ।






