व्यंग्यचित्रकार गोवर्धनविक्रम शाहको निधन

ललितपुर,
असोज ४ ।

नेपाली छापामाध्यममा पहिलो पटक व्यंग्यचित्र प्रकाशित गर्ने व्यंग्यचित्रकार गोवर्धनविक्रम शाहको निधन भएको छ । भदौ २८ गते ललितपुरस्थित निवासमै निधन भएको भतिज शोहनविक्रम शाहले जानकारी दिनुभयो । वि.सं. १९९० साल भदौ २० गते जन्मिनुभएका शाहको २०१४ साल साउन महिनाको पहिलो हप्ता ‘संयुक्त प्रयास’ साप्ताहिकमा कार्टुन प्रकाशित भएको थियो । अग्रज कलाकारका शशीविक्रम शाहले गोवर्धनविक्रमले चार पाँच वटा कार्टुन उक्त पत्रिकामा छापेको बताउनुभयो । उहाँले ती कार्टुन नेपालमा पत्रिकामा छापिएका पहिलो बन्न पुगेको सुनाउनुभयो । यस्तै, कार्टुन नेपाली छापामाध्यममै छापिएको पहिलो कार्टुनको रुपमा लिनुपर्ने डा. कुन्दन अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अभिलेख पल्टाएर हेर्दा ०१४ साल साउन महिनाको सुरुवात्मै छापिएको त्यही कार्टुन नेपाली अखबारमा छापिएको पहिलो कार्टुन हो भन्ने देखिन्छ । त्यसैले नेपाली पत्रकारितामा कार्टुनको इतिहास छ दशक पुरानो छैन ।’

अग्रज कार्टुनिस्ट एवं कार्टुनिस्ट क्लबका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले गोवर्धनविक्रम नेपाली कार्टुन क्षेत्रकै जिउँदो इतिहास भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँ नेपाली कार्टुन क्षेत्रकै जिउँदो इतिहास हुनुहुन्थ्यो । आज उहाँको निधनको खबरले दुखित छु । आफ्नो हस्ताक्षरसहित कार्टुन छाप्ने नेपालको पहिलो कार्टुनिस्टको रुपमा हामी उहाँलाई चिन्दछौं । नेपाली कार्टुनको प्रारम्भिक कालबारे चर्चा गर्नुप¥यो भने उहाँको चर्चाविना इतिहास नै अपूरो हुन्छ ।’ उनले कार्टुनिस्ट क्लब अफ नेपालबाट विसं २०७० सालमा नेपालको पहिलो कार्टुनिस्टको रुपमा गोवर्धनविक्रमलाई ‘बराथा स्मृति सम्मान’ बाट सम्मानित गरेको जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो, ‘हामीकहाँ अभिलेखीकरणको राम्रो व्यवस्था नभएको कारणले गर्दा यस्ता ऐतिहासिक कुराहरू इतिहासबाटै हराएर जाने सम्भावना पनि रहन्छ । उहाँको निधनसँगै नेपाली कार्टुन इतिहासको एकजना महत्वपूर्ण साक्षी पनि हामीले गुमाएका छौँ । यसले गर्दा नेपाली कार्टुन इतिहासको संरक्षण र सम्बद्र्धन गर्न यसको अभिलेखीकरण पनि अति जरुरी देखिएको छ ।’

कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले नेपालमै छापामाध्यममा कार्टुन छापेर इतिहास बनाउनुभएका गोवर्धनविक्रमको निधनप्रति गहिरो समवेदना प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, ‘उहाँको योगदानको नेपाली कार्टुन क्षेत्रले सधै स्मरण गरिरहने छ ।’ नेपाली सञ्चारक्षेत्रमै गोवर्धनविक्रमले कार्टुन प्रकाशित गरेर इतिहास बनाएको नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले बताउनुभयो । उहाँले पत्रपत्रिकामा कार्टुन प्रकाशित गरेर शाहले नेपाली कलाक्षेत्रलाई सञ्चार माध्यममा जोड्ने काम गरेको सुनाउनुभयो । स्व. गोवर्धनविक्रमका तीन छोरा र एक छोरी हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार