‘हिजो आजका कुरा’ को ट्रेलरमा कमेडी र सेन्टिमेन्टस्को मिश्रण

काठमाडौं,
भदौ २२ ।

बरिष्ट अभिनेता सन्तोष पन्तले निर्माण गरेको चलचित्र ‘हिजो आजका कुरा’ को ट्रेलर बुधबार सार्वजनीक भएको छ । साकार पन्त निर्देशीत चलचित्रको दुई मिनेट ४५ सेकेन्ड लामो ट्रेलरमा पारिवारिक जीवनमा आउने उतावचढाव, संघर्ष, जिम्मेवारी, कर्तब्य र वर्तमान समयको वास्तविकतालाई दर्शाइएको छ ।

राजधानीको आइप्लेक्स मलमा स्थित वान सिनेमामा प्रेसमिटगरी दर्शकमाझ ल्याएको ट्रेलर हाँसो तथा रोदनले भरिएको छ । कार्यक्रममा बरिष्ट अभिनेता सन्तोष पन्तले आफूले १२ बर्षसम्म टेलिभिजनमा सञ्चालन गरेको लोकप्रिय टेलिश्रृंखला ‘हिजो आजका कुरा’ को साखलाई चलचित्रले अझ सशक्त रुपमा बिउँत्याउने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले चलचित्रमा धेरै कुराहरू समाबेश गरिएकाले सबैलाई हेर्न आग्रह गर्नुभयो । अभिनेत्री रमा थपलियाले ‘हिजो आजका कुरा’ निकै मिहीनेत गरेर बनाइएकाले दर्शकले पुनः एकपटक ठूलो पर्दामा पनि उत्तिकै मन पराउने बताउदै बिसुद्ध नेपालीपनको चलचित्रलाई सबैले माया गर्नुपर्ने धारणा राख्नुभयो ।

निर्देशक साकारले चलचित्र पारिवारिक कथामा निर्माण गरिएको जनाउदै आमदर्शकको माया पाउनेमा आफूहरु ढुक्क रहेको बताउनुभयो । उहाँले कोभिड अघिनै प्रदर्शन हुनुपर्ने चलचित्र अब चाडपर्वको माहौलमा दर्शकमाझ ल्याउन लागेको जानकारी दिनुभयो । सेन्सरबोर्डबाट युनीभर्सल सर्टिफिकेट प्राप्त गरेको चलचित्र असोज २८ बाट देशभर प्रदर्शन हुँदैछ ।

कार्यक्रम केही समयअघि युट्युवमा सार्वजनीक गरिएको ‘परदेश’ बोलको गीत पनि प्रदर्शन गरिएको थियो । गीतले चलचित्रको कथाको बहावलाई अझ पेचिलो बनाएको निर्देशक साकारले बताउनुभयो । कार्यक्रममा अभिनेत्री ऋचा शर्मा र रिमा बिश्वकर्माले आफूहरू ‘हिजो आजका कुरा’ को सदस्य बन्न पाउदा निकै खुशी लागेको बताउनुभयो । ऋचाले बच्चा बेलामा धनगढीमा ब्ल्याक एण्ड ह्वाइट टेलिभिजनमा हरेक शुक्रबार टेलिश्रृंखला ‘हिजो आजका कुरा’ हेरेको स्मरण गर्दै अहिले ठूलो पर्दामा सोही नाममा अभिनय गर्न पाउदा आफूलाई अत्यन्त भाग्यमानी ठानेको सुनाउनुभयो । अभिनेता दिब्यदेवले ‘हिजो आजका कुरा’ मनोरञ्जनका साथमा सन्देश मुलकसमेत रहेको बताउदै आफूले पाएको भूमिकामा न्याय दिने कोसिस गरेको दावी गर्नुभयो ।

अभिनेत्री जेबिका कार्की र यसै चलचित्रबाट डेब्यु गर्नुभएकी अनुष्का अधिकारीले पनि आफूहरूको अभिनय यात्रामा ‘हिजो आजका कुरा’ बिशेष रहेको बताएउनुभयो । हाँस्य कलाकारको रुपमा परिचीत सविन श्रेष्ठले आफूहरूले निकै मिहीनेतका साथ काम गरेकाले दर्शकको मन जित्ने आशा ब्यक्त गर्नुभयो ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको कथा अभिनेता पन्तकै हो भने पटकथा सन्दीप किस्नाको छ । रवी सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त, सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र हुनुहुन्छ । चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतले अभिनय गर्नुभएको छ । चलचित्रको बितरण बिके फिल्मस् र एफडिले गर्दैछ ।

यसमा तपाइको मत

अन्य समाचार