आज गणेश चतुर्थी बिघ्नहर्ताको भगवान गणेशको पूजा गरी मनाइँदै

काठमाडौं,
भदौ १५ ।

आज गणेश चतुर्थी बिघ्नहर्ताको भगवान गणेशको पूजा गरी मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादीलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिएकामा यस वर्ष काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण घर-घरमा भगवान गणेशको पूजा आराधना गर्नुपर्ने छ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको बताइन्छ । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।

मङ्गल चतुर्थीसमेत भनिने आजका दिनलाई नेवार समुदायले चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ । यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजाधानी लगायत मुख्य शहरमा गणेश रथयात्रा पनि शुरु गर्दछ । यस वर्ष भने कोरोनाबाट बच्न जारी निषेधाज्ञा र बन्दाबन्दीका कारण रथयात्रा स्थगित गरिएको छ ।

यो उत्सव भारतको महाराष्ट्रलगायत अन्य स्थानमा निकै धूमधामले मनाइन्छ । गणेश चतुर्थीदेखि अनन्त चतुर्दशी ९अनन्त चौदस०सम्म दस दिन गणेशोत्सव मनाइन्छ ।

यसमा तपाइको मत

अन्य समाचार