ल्याक्सिनटन,
भदौ १३ ।
अमेरिकाबाट निर्माण गरिएको नेपाली लघु चलचित्र ‘परिवार’ को प्रिमियर शो गरिएको छ । अमेरिकामा बस्दै आउनुभएका सुमन दाहालको निर्देशन रहेको चलचित्रलाई ल्याक्सिनटन शहरमा छायाँकन गरेर तयार पारिएको हो । चलचित्रको प्रिमियर शो आइतबार बेलुका केन्टकी स्थित ल्याक्सिनटन सिटीमा गरिएको छ ।
सम्राट क्रियसनको आयोजना तथा सम्राट कियसनका अध्यक्ष सम्राट दाहालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै चलचित्र निर्देशक दाहालले भन्नुभयो, ‘मैले जानेको कुरा भनेकै चलचित्र कर्म भएकाले अमेरिकामा रहेर पनि विभिन्न चलचित्र निर्माण गर्दै आएको छ । मुलतः बिदेशमा बसेका नेपालीहरूको परिवारको एकताका लागि चलचित्र परिवार निर्माण गरेको हुँ ।’ प्रिमियर शोमा सबैबाट राम्रो प्रतिक्रिया पाउँदा आफू उत्साहित भएको उहाँले बताउनुभयो । यो चलचित्रलाई अब विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सबमा प्रदर्शनी गरिने पनि निर्देशक दाहालले जानकारी गराउनुभयो ।
एनआरएनले आईसिसी अमोरिका रिजनका डेब्युटी रिजनल कोअर्डिनेटर पुरूषोत्तम बोहोराको विशिष्ट अतिथ्यतामा सम्पन्न प्रिमियर शोमा एनआरएनको तर्फबाट शशी अधिकारी, एनआरएनए केन्टकी च्याप्टरका अध्यक्ष केशव लोहोनी, अन्तर्राष्ट्रीय कलाकार समाज अमेरिका केन्टकी च्याप्टर अध्यक्ष अर्जुन थापा, स्थानीय नेपाली सामाजिक संस्था एन्का अध्यक्ष थिरलाल अर्याल, स्थानीय सामाजिक संस्थाका पूर्व नेतृत्वकर्ता राम खनाल, मोहनी डुम्रे, प्रवासी नेपाली मञ्च अमेरिकाका उपाध्यक्ष गोपाल कंडेल, स्थानीय सामाजिक संस्थाका पूर्व उपाध्यक्ष बाबुराम अधिकरीले चलचित्रले परिवारमा एकता र सुख शान्तिको सन्देश दिएको बताउनुभयो ।
प्रिमियर शोमा चलचित्रको परिवारको बारेमा चलचित्रकर्मी प्रकाश शर्मा, सङ्गीतकर्मी चुडामणी अवस्थी, लोक गायिका नर्मदा खरेल, सम्झना अधिकारीले पनि अमेरिकामा बसेर पनि सुमनले निमै राम्रो नेपाली चलचित्र निर्माण गरेको प्रतिक्रिया दिनुभयो ।
ईश्वर प्रवासीले कथा लेखेको यो चलचित्रको पटकथा, सम्वाद रवी अर्यालले तयार गर्नुभएको हो । जसमा अग्रेज सब टाइटल सरोज प्याकुरेलको छ । यसमा अक्की शर्माको छायाँकन, रेनिश फागोको रङ्ग संयोजन, ऐलिस कार्कीको पाश्व सङ्गीत, मुकेश शाहको मिक्सिङ, भुपेन्द्र अधिकारीको सम्पादन छ ।
चलचित्रमा वसुन्धरा भुसाल, एकनारायण सुवेदी, मन्दिरा दाहाल, डि डि कौशिक, ईश्वर प्रवासी, सविता चौलागाई, रवी कोईराला, सन्दीप अर्याल, आयुश ढुङ्गेललगायतको मुख्य भूमिका छ ।
चन्दा दंगालले निर्माण गरेको यो चलचित्रको सह निर्माता डि डि कौशिक हुनुहुन्छ । चलचित्रको निर्माण सहयोगीमा पुर्ण गौतम (इरिन इन्स्योरेन्स), मेलिस ज्वेलर्स रहेको चलचित्रको प्रिमियर शोमा जानकारी गराईएको थियो ।






