सोलुखुम्बु,
भदौ १३ ।
सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका–३ मा दुई दिनसम्म भएको धर्म देशना (प्रवचन) कार्यक्रम सम्पन्न भएको छ । शनिवार र आइतबार अर्थात भदौ ११ र १२ गतेसम्म बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित प्रवचन सम्पन्न भएको हो ।
धर्म देशनाको समापन समारोहलाई सम्बोधन गर्दै श्रद्धेय नाप्टा रिम्पोछेले मानव जीवन कर्म, हेतु र फलमा आधारित रहेको बताउनुभयो । उहाँले बौद्ध धर्म दर्शनको अभ्यास, चिन्तन मनन गर्नुपर्ने र त्यसपछि व्यवहारमा लागू गरी सम्पूर्ण प्राणी जगतको कल्याणको आफ्नो समय खर्चिनुपर्ने बताउनुभयो । उहाँको आशीर्वचनलाई खेन्पो ङ्वाङ लेन्डुपले अनुवाद गरिएको थियो ।
यस्तै गुम्बाका अध्यक्ष नुर्बु ठिले शेर्पाले गुम्बामा धार्मिक प्रवचन हुँदै आएको तर सरकारी स्तरबाट यस भेगमा पहिलो पटक भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले स्थानीय समुदाय स्वयं धर्मको लागि समर्पित हुनुपर्ने बताउँदै यो कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।
यसैगरी वडा न ३ का अध्यक्ष नुरु जाङ्बु शेर्पाले मन्तव्यको क्रममा शेर्पा समुदायको बाहुल्यता रहेको यस खुम्बु क्षेत्रमा धर्म देशना कार्यक्रमले पक्कै पनि सकारात्मक परिवर्तन ल्याउन उल्लेख्य भूमिका खेल्ने बताउनुभयो । उहाँले स्थानीय निकायबाट मौलिक कला संस्कृति परम्पराको संरक्षण र जगेर्ना गर्न बौद्ध धर्म दर्शनको माध्यम निकै सहयोगी सिद्ध हुने कुरा राख्नुभएको थियो ।
समारोहमा खुम्बु पासाङल्हामु गाउँपालिका-३ का अध्यक्ष नुरु जाङ्बु शेर्पा, गुम्बाका अध्यक्ष नुर्बु ठिले शेर्पा, समितिको सदस्य पासाङ नुरु शेर्पा, प्रवचक खेन्पो ङ्वाङ लेन्डुप (पेमा छोलिङ बौद्ध विद्यालयका प्रधानाध्यापक), आचार्य नुर्बु शेर्पा, तेख्वाङ्वा गुम्बाका अध्यक्ष पासाङ सोनाम शेर्पा, चौरीखर्क मध्यवर्ती क्षेत्रका अध्यक्ष आङ नुरु शेर्पा, खेन्पो मिङमार गेलु, लोपेन कार्साङ नुर्बु, लोपेन ङ्वाङ ग्याजो, उज्जे छ्योलिङ गुम्बाका प्रमुख लामा ङ्वाङ दोर्जे शेर्पाले मन्तव्यमा बौद्ध दर्शनलाई अनुसरण गर्नु मानव सृष्टिका लागि जीवन्त हुने बताउनु भएको थियो ।
प्रवचनमा स्थानीय गुम्बाका प्रमुख लामा, अन्य लामा धर्म गुरुहरू, स्थानीय जनसमुदायहरू सहित दुईसय भन्दा बढीले सहभागिता जनाएका थिए ।
समापन समारोहमा रिम्जुङ र टकटोक टोल विकास समितिका कलाकारहरूबाट मौलिक भेषभुषामा सजिएर मौलिक गीतमा शेर्पा नृत्य प्रस्तुत भएको थियो ।
यसैगरी समापन समारोहमा समितिको अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल)ले धन्यवादसहित कार्यक्रम समापन गरिएको थियो । उहाँले यस क्रममा मानव मन नै सबै कुराको जड रहेको बताउँदै बौद्ध दर्शनको अन्तर्यलाई अनुसरणगरी समस्त प्राणी जगतको हितार्थ अग्रसर रहनुपर्ने कुरा बताउनुभयो ।
कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक रामबाबु सापकोटाले गर्नुभएको थियो ।






