इटहरी,
भदौ ८ ।
चौधरी फाउन्डेसनले सुनसरी र उदयपुरका बाढि प्रभावित परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । फाउन्डेसनले संकल्प सिबिआर नेपाल, करुणा फाउन्डेसन र एसिया प्यासिफिक अलाइन्ससंगको सहकार्यमा २३६ घरधुरीलाई खाधान्नसहित आवस्यक सामग्री वितरण गरिएको हो । भदौ ४ गते बाढि कटान क्षेत्र बराहक्षेत्रको वडा नम्बर ३ र ६ को ११६ घरधुरी लाई खाधान्नसहित झुल र टर्च लाईट वितरण गरिएको थियो ।
बराहक्षेत्रको सहयोग वितरण कार्यक्रममा सुचना तथा सञ्चार मन्त्रि ज्ञानेन्द्रबहादुर कार्की, बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की, चौधरी फाउन्डेसन प्रदेश १ को–अर्डिनेटर पुण्यप्रसाद लुइटेल लगायतको सहभागिता रहेको थियो । यस्तै भदौ ५ गते आइतवार उदयपुरको बेलाका नगरपालिका वार्ड ३ र ९ मा पनि बाढिबाट प्रभावितहरूलाई राहत वितरण गरिएको थियो ।
बेलाकाको राहत वितरण कार्यक्रममा वडाअध्यक्ष तथा सहयोगी संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । वितरण गरिएको राहतमा प्रति घरधुरी २५ किलो चामल, दुई किलो दाल, दुई किलो चिनी, एक किलो नुन, दुई लिटर खाने तेल, दुई प्याकेट बेसार, सुपानेट झुल एक थान, इलेक्ट्रिक टर्च लाइट एक थान र साबुन ६ थानका दरले प्रदान गरिएको थियो ।






