काठमाडौं,
भदौ ३ ।
‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले स्वीट्जरल्याण्डको मान्टिग्नी र फ्रान्सको कोन्फोलेन्समा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ । विगत लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले स्वीट्जरल्याण्डको मान्टिग्नी र फ्रान्सको कोन्फोलेन्समा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको हो ।
स्वीट्जरल्याण्डको मान्टिग्नीमा अगस्ट १ देखी ७ आयोजना भएको मेलामा नेपाल सहित विश्वाका १० राष्ट्र र फ्रान्सको कोन्फोलेन्समा अगस्ट ९ देखी १६ सम्म आयोजना भएको मेलामा नेपाल सहित विश्वाका १४ राष्ट्रको समूह सहभागी भएका थिए ।
नेपालबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला (रामचन्द्र) को नेतृत्वमा सहभागी हुन त्यतर्फ गएको टोलीमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका निर्देशक सीतल आचार्यको निर्देशन तथा वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसीको नृत्य निर्देशन रहेकोे थियो भने सङ्गीत सम्योजन रामबहादुर भुजेलको रहेको थियो ।
टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने विभिन्न नृत्य प्रस्तुत गरेको थियो । उक्त मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनी, थाली, सतार, धिमाल, शेब्रु, कुमारी, लाखे, सोरठीलगायत दर्जनौ नृत्यहरू प्रस्तुत गरिएका थिए ।
मेलामा एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला, निर्देशक सितल आचार्य, वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी, नृत्यतर्फ नृत्य निर्देशक शम्भु शाही, कृष्ण रेउले, उत्तम शर्मा, भवानी कोइराला, प्रमिला रिजाल, सपना महर्जन, गौरी ढकाल कोइराला, सनि शाही, बाद्यबादन तथा गायक गायिका तर्फ वरिष्ठ बाँसुरीबादक रामबहादुर भुजेल, वरिष्ठ वाध्यबादक धनेश्वर तिवारी, वरिष्ठ लोक गायक रामप्रसाद पाण्डे, गायिका रिता बुढाथोकी भुजेल तथा प्रबन्धक डेकप्रसाद अधीकारी (गोपाल) सहभागी हुनुभएको थियो ।
सहभागि अन्तर्राष्ट्रिय समुहका कलाकारहरूलाई नृत्य निर्देशक जोगेन्द्र केसीले नेपाली लोक गीत रेशम फिरिरिमा नृत्य प्रशिक्षण गराइ मेलाको उद्घाटन र समापनमा नेपाली गीतमा अन्तर्राष्ट्रिय कलाकरहरूले प्रस्तुति गर्नुभएको थियो ।
सोही अवसरमा ग्रुपका निर्देशक सितल आचार्यले फ्रान्स र स्वीट्जरल्याण्डका सम्बन्धित नगरपालिका प्रमुखहरू, उपस्थित सम्पूर्ण महानुभाव तथा आयोजकलाई भेट गरी नेपालमा साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्न सकिने सम्भावना बारे तथा भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रमहरू सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा गर्न सकिने बारेमा जानकारी दिनुभएको थियो ।
कतिपय राष्ट्रका नागरिकलाई सगरमाथा (एभरेष्ट) को नाम थाह भए पनि यो कहाँ र कुन देशमा पर्छ भन्ने थाहा नभइरहेको अवस्थामा यस्ता साँस्कृतिक कार्यक्रमको आदान प्रदानले नेपाललाई विश्वसामु चिनाउन सहयोग पुग्नुका साथै नेपाल बुद्धको जन्मभूमि हो भनेर जानकारी दिनसमेत मद्दत पुग्ने एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइरालाले बताउनुभयो ।
उहाँले साँस्कृतिक कार्यक्रमको प्रभाव जनस्तरसम्म पुग्ने र यस्ता कार्यक्रमलाई सरकारले पनि प्रबद्र्धन गर्नुपर्ने तर नेपाल सरकारको तर्फबाट प्रोत्साहन नहुँदानहुँदै पनि निजीस्तरबाट साँस्कृतिक राजदूतका रूपमा भए पनि मुलुक चिनाउने कार्यमा अलिकति भएपनि योगदान गर्न पाएकोमा गर्व लाग्नेगरेकोे बताउनुभयो । उहाँले आगामि दिनमा पनि यस्ता साँस्कृतिक आदान प्रदानका कार्यक्रमहरू भइरहने जानकारी दिनुभयो ।






