काठमाडौं,
भदौ २ ।
राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पनि प्रतिनिधिसभाबाट पारित गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गरिएको सो प्रस्ताव बहुमतले पारित भएको हो ।
जस अनुसार प्रस्तावको पक्षमा १३५ मत, विपक्षमा ६० यति मत परेको थियो । सभामा तत्काल कायम रहेको सदस्य संख्या १९५ रहेको र प्रस्तावको पक्षमा बहुमत रहेकाले सो प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्नीप्रसाद सापकोटाले घोषणा गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक भदौ ५ गते आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
राष्ट्रपतिले वैवाहिक अंगीकृत, प्रादेशिक पहिचान, महिलाको आत्मसम्मानलगायत विषय उल्लेख गर्दै नागरिकता विधेयकलाई पुनर्विचार गर्न भन्दै साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाउनु भएको थियो ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिको सन्देश र नागरिकता विधेयकमाथि बिहीबार ११ बजेदेखि छलफल भएको थियो । छलफलका क्रममा सत्तापक्षका सांसदहरूले राष्ट्रपतिले संसद्बाट पारित विधेयक फिर्ता पठाउनु गलत भएको तर्क राखेका थिए भने प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले विधेयकमा वैवाहिक अंगीकृतको व्यवस्था राख्ने अवसरका रूपमा सदुपयोग गर्न माग गरेका थिए ।






