काठमाडौं,
साउन ३० ।
अमर सङ्गीतकार गोपाल योन्जनको ८०औं जन्मजयन्तीको अवसरमा नेवाः साधना कला केन्द्रको आयोजनामा एक साङ्गीतिक कार्यक्रमका साथै वरिष्ठ सङ्गीतकार राजु सिंहलाई गोपाल योन्जन एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रका संस्थापक सुन्दरमान श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहमा वरिष्ठ सङ्गीत विश्लेशक तथा चलचित्र निर्दशक प्रकाश सायमी प्रमुख अतिथीका रुपमा रहनुभएको थियो ।
प्रमुख अतिथीको आसनबाट बोल्नुहुँदै सायमीले अमर सङ्गीतकार गोपाल योन्जन एक शाकाहारी व्यक्ति हुनुहुन्थ्यो भने स्वर सम्राट नारायण गोपाल गुरुवाचार्य मांसाहारी प्रकृतिका व्यक्ति हुनुहुन्थ्यो तर उहाँहरूबीचको मित्रता भने अवर्णीय थियो भनेर भन्नुभयो । कार्यक्रममा आयोजक संस्थाका रोजी श्रेष्ठ डंगोलले स्वागत मन्तव्य राख्नुभएको थियो । यस्तै, इन्दिरा कलानिधि महाविद्यालयका प्रमुख तथा विशिष्ट सङ्गीत गुरु धनबहादुर गोपालीका साथमा विख्यात गीतकारहरू भुषण खरेल र विश्व बल्लभले गोपाल योन्जन का विविध पक्षमा प्रकाश पार्नुभएको थियो ।
नेवाः साधना कला केन्द्रको आयोजनामा सम्पन्न साङ्गठनिक कार्यक्रममा गायन कलाकारहरू रोजी श्रेष्ठ डंगोल, शुद्धलक्ष्मी श्रेष्ठ, राज गोपनली, उत्तरा मानन्धर, शैलेश सिंह, देवेन्द्र मान सिंह, किशोर शाही, विजय मानन्धर, सुरेन्द्र श्रेष्ठ, सतिश महर्जन, कैलाश भुसाल, माधव दाहाल, सिद्दार्थ श्रेष्ठ लगायतले गोपाल योन्जनद्वारा सङ्गीतबद्द गीतहरू प्रस्तुत गर्नुभएको थियो भने विशेष क्षमताकी प्रतिभा रुबी वैद्यले पनि एक साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।






