चौथो संस्करणको मिस्टर एण्ड मिस थारुको आवेदन खुल्ला

काठमाडौं,
साउन ४ ।

चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को आवेदन खुल्ला गरिएको छ । आयोजक जह इन्टरटेनमेन्ट प्रा.लि.ले एक प्रेस विज्ञप्ती जारी गर्दै नयाँ संस्करणका लागि आवेदन खुला गरिएको जनाएको हो ।

सहभागि हुन चाहने युवायुवतीहरूले आधिकारिक वेबसाइट रजिष्ट्रेशन डट जहइन्टरटेनमेन्ट डटकममा गई आवेदन दिन सकिने छ भने खल्ती एपमार्फत पनि आवेदन दिन सकिने जह इन्टरटेनमेन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरीले जानकारी दिनुभयो । खल्ती एपबाट आवेदन दिँदा १० प्रतिशत क्यासव्याकसमेत सुविधा पाउने छन् । आवेदन शुल्क ६०० रुपैयाँ तोकिएको छ । आयोजकका अनुसार अडिसनको मितिदेखि एक दिन अगाडिसम्म फारम भर्न सकिने छ ।

मिस्टर एण्ड मिस थारुको आवेदन खुल्ला गरिएसँगै अडिसनको मितिसमेत तय गरिएको छ । विगतजस्तै यसपटक पनि देशका मुख्य १० शहरहरूमा अडिसन हुँदैछ । अडिसन यही साउन २१ गतेदेखि सुरु हुँदैछ । पहिलोदिन सुनसरीको झुम्का, पर्साको वीरगञ्ज, चितवनको भरतपुर र बाँकेको नेपालगञ्जमा अडिसन हुने इभेन्ट डिरेक्टर जयस चौधरीले जानकारी दिनुभयो ।

यस्तै, दोस्रो अडिसन साउन २४ गते मोरङको विराटनगर, सिरहाको लहान, कैलालीको टिकापुरमा एकैसाथ हुने छ । तेस्रो तथा अन्तिम अडिसन साउन २८ गते काठमाडौं, दाङ र बुटवलमा एक साथ हुने चौधरीले बताउनुभयो ।

अडिसनबाट छनौट भएकालाई भदौंमा अभिमुखीकरणमा सहभागि गराइने छ । त्यसलगत्तै काठमाडौं बाहिर ग्राण्ड फिनाले गर्ने आयोजकको तयारी छ । लगातार दुई संस्करणको ग्राण्ड फिनाले काठमाडौंमा भएको थियो भने तेस्रो संस्करणको फिनाले चितवनमा भएको थियो । थारु बाहुल्यता भएका जिल्लाहरूमा ग्राण्ड फिनालेहरू गर्दै लैजाने तयारी भइरहेको जह इन्टरटेनमेन्ट प्रा.लि.निर्देशक रुपेश चौधरीले जानकारी दिनुभयो । सोही अनुरुप यसपटक पनि काठमाडौं बाहिर नै ग्राण्ड फिनाले गर्ने तयारी भइरहेको छ ।

यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी हुनुभएको थियो भने मिस थारु जेनिशा चौधरी हुनुभएको थियो । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी हुनुभएको थियो । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार र मिस थारु लिभा थारु हुनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार