✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
साउन ३ ।
आज नेपाली जनता सबै भन्दा बढी महँगीको समस्यामा परेका छन् । यो समस्या झन बढदै छ । आम नागरिक महँगीको मारमा यसरी पिरोलिएका छन् की त्यो भनी साध्य छैन । बजारमा सबै चिज महँगीएको छ । सर्बसाधरण नागरिकको त चुलोसमेत बल्न सकेको छैन । भोकाएको मान्छेले राम्रोसँग खान पाएका छैनन् । मान्छेको सबै भन्दा ठूलो समस्या भोक हो । मान्छे खाली पेट भर्नका लागि रात दिन काम गरेका हुन्छन । तरपनि श्रम गरे अनुसार खान पाएका छैनन् । जीवन चलाउन धेरै मान्छेलाई समस्या नै छ । त्यसैले सबैभन्दा पहिले मान्छेलाई साँझ बिहानको छाक टार्ने व्यवस्था हुनुपर्छ ।
यो कुरामा सरकार गम्भिर बन्नुपर्ने आबश्यकता देखिएको छ । अब राजनीतिक दल र तिनका नेताहरूले गफ मात्र गर्ने होइन, ब्यवहारमा देखाउनुपर्ने जरुरी देखिएको छ । दल र तिनका नेताहरूले जनताका समस्या बिर्सिनु दुर्भाग्य हो । महँगीले जनजीवन अस्तव्यस्त छ । यसको सबैभन्दा ठूलो मार निमुखा गरिबलाई परेको छ । अहिलेको महँगीले सबैको टाउको दुखाएको छ । गरिब जनताको समस्या समाधान नभएसम्म देशको उन्नति हुन सक्दैन । गरिब जनताको नाममा राजनीति गर्नेहरूले अब सोच्नु पर्ने बेला आएको छ ।
सधैभरी गरिब जनतालाई भ्रममा राखेर राजनीतिक दलहरूको भबिश्य राम्रो हुँदैन । धेरै मानिस गाउँबाट कामको खोजिमा सहरबजार पसेका छन् । रोजी राटीका लागि थुप्रै युवा मुग्लान भासिएका छन् । मान्छेहरू सडकका पेटीमा मकै पोलेर, सागपात, फलफूल बेचेर आफनो जीविका चलाएको पनि हामी देखेका छौ । ज्यामी र भरियाहरूको पनि आफ्नै समस्या छ । केही मानिस ठेलागाडा वा रिक्सा चलाएर आफनो गुजारा चलाउँदै आएका छन् । महँगीको सबैभन्दा ठूलो समस्या उनीहरूलाई परेको छ ।
आज महँगीले सर्बसाधरण जनता भोकभोकै मर्नुपर्ने अबस्था आउँदै छ । यस्तोमा सरकारले अभिभावकत्व ग्रहण गर्नुपर्ने हो । तर, देशमा सरकार छ की छैन त्यो समेत जनताले अनुभूति गर्न पाएका छैनन् । यो भन्दा लाज मर्दो कुरा अरु के हुन्छ ? देउवा सरकारको प्राथमिकताभित्र जनताका यस्ता जल्दाबल्दा समस्या किन पदैनन् ? प्रश्न गर्ने मन लागेको छ । देशमा धेरै पटक धेरै सरकार बने तर कुनै पनि सरकारले आमजनता र देशका लागि भनेजस्तो गतिलो काम गरेनन् । देशमा उत्पादन छैन, खाद्यान्न उत्पादन हुने खेतपाखो बाँझो छ, देशभित्र सानातिना निर्माण कार्य र कलकारखानामा पनि विदेशी श्रमिकको बाहुल्य छ ।
देश भ्रष्टाचारमा डुबेको छ । यसमा सुधार गर्न सकिएन भने भोली ठूलो समस्या भोग्नुपर्ने निश्चित छ । देशको सार्वभौमसत्ता खतरामा पर्ने जोखिम बढेर गएको छ । देशको विकास हुन सकेको छैन । साँच्चै देशको बिकास गर्ने नै हो भने भ्रष्टाचारमुक्त समाज आजको पहिलो आवश्यकता हो । यसका लागि युवावर्ग अगाडि बढनुपर्छ । अर्को ठूलो समस्या भनेको बेरोजगारी समस्या हो । जवसम्म देशमा बेरोजगारी समस्या समाधान हुँदैन तवसम्म देशको बिकास हुँदैन ।
आज नेपालमा दुई किसिमका शिक्षा र स्वास्थ्य सेवा उपलब्ध छन् । पैसा हुनेका लागि महँगो र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध छन् । पैसा नहुनेका लागि गुणस्तरहीन शिक्षा र स्वास्थ्य छ । यसले नागरिकमा बिभेद ल्याएको छ । यो गरिव जनतामाथि गरेको विभेद हो । यसलाई जतिसक्दो चाँडो सच्याउनु आवश्यक छ ।






