‘परदेशी-२’को टिजर सार्वजनिक

काठमाडौं,
असार २४ ।

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी-२’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार ‘रिमा ईन्टरटेन्मेन्ट’ युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो । चलचित्र सिनेमाघरमा आउने मिति पनि तय गरिएको छ । यो चलचित्र दशैँको टिकाको पाँच दिनअघि असोज १४ गतेबाट सिनेमाघरमा आउने भएको छ ।

साढे दुई मिनेटको टिजरमा चलचित्रका मुख्य कलाकारहरू अभिनेता दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, अभिनेत्रीद्वय केकी अधिकारी, वर्षा शिवाकोटीलगायतलाई प्रस्तुत गरिएको छ । ‘परदेशी-२’ लोकप्रिय गायक प्रकाशको डेब्यू चलचित्र हो ।

https://www.youtube.com/watch?v=sIavUDgxvQQ

यसअघि ‘परदेशी’मा वैदेशिक रोजगारीको कथा बुनिएकोमा यसपटक भने नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाईएको टिजरबाट आँकलन गर्न सकिन्छ । अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा–व्यथालाई समेत चलचित्रमा प्रस्तुत गरिएको कुरा पनि टिजरबाट बुझन् सकिन्छ । प्रेम, वियोग, संवेदना, द्वन्द्व, गीत सबैको अंश टिजरमा मिश्रित छ ।

नारायण इन्टरनेशनल प्रा.लि.को प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझी मिलेर चलचित्रको निर्माण गर्नुभएको हो । चलचित्रको कथा भने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका गीतकार रमेश बिजीले लेख्नुभएको हो ।

चलचित्रमा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारहरूको समेत अभिनय छ ।

बि.बि. अनुरागीको संगीत रहेको चलचित्रमा रामजी लामिछाने र गोबिन्द राईको कोरियोग्राफी छ भने गीतमा निर्देशक रायमाझीसँगै, प्रशान्त तामाङ, निशान भट्टराई, प्रताप दास, तेजेन्द्र गुरुङ, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटालगायतको स्वर छ । सुदीप कुँवरको सह-निर्देशन, अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रलाई मानकृष्ण महर्जनले छायाँकन गर्नुभएको हो भने दीर्घ खड्काको सम्पादन तथा नकुल खड्का र मिराज अर्यालको सह-सम्पादन छ ।

ईश्वर घिमिरे/रामहरि डंगोलको पोष्ट प्रोडक्सन, मनोज श्रेष्ठ र दिनेश विष्टको भी.एफ.एक्स, मिराज अर्यालको टाइटल डिजाइन, राजेन्द्र मोक्तानको कलर, श्यामश्वेत रसाइलीको साउण्ड डिजाइन र ५.१ मिक्सिङ रहेको चलचित्रको डबिङ र फोले मनोज खड्काले गर्नुभएको छ । चलचित्रको वितरकमा काठमाडौंका लागि डिसीएन र काठमाडौं बाहिर एफडी कम्पनी रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार