लाक्पा शेर्पाद्वारा १६ दिनभित्र तीन पटक मकालु हिमाल आरोहण गरेर कीर्तिमान

काठमाडौं,
असार १५ ।

शाहसी आरोही लाक्पा शेर्पाले १६ दिनभित्र तीन पटक मकालु हिमाल आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको छ । सङ्खुवासभाको मकालु गाउँपालिकामा पर्ने मकालु हिमाल आठ हजार ४८५ मिटर अग्लो छ। लाक्पाले मकालु हिमाल सन् २०२२ को मे १२, २० र २८ तारिकमा सफल आरोहण गर्नुभएको हो । शेर्पाले सोही समयमा चौथो पटकको आरोहण भने खराब मौसमका कारण पुरा गर्न नसकी फर्किएको बताउनुभयो ।

‘चौथो पटकको आरोहण पुरा गर्न सफल बनाउँन ३० मिटर बाँकी छँदा मौसमले साथ दिएन र म फर्किन बाध्य भएँ ।’ हिमाल आरोही शेर्पाले भन्नुभयो, ‘यो बिश्व कीर्तिमान हो र गिनिजबुकमा नाम रहन्छ भन्ने सोचेको छु ।’ आफूले रेकर्डकै लागि नभई आफ्नो गाउँ र ठाउँ चिनाउने उद्देश्यका साथ हिमाल आरोहण गरेको बताउनुभयो ।

मकालुबासीकै ट्रेकिङ कम्पनी ‘सेभेन समिट ट्रेक्ज् प्रा.लि.को सहयोगमा १६ दिनमा तीन पटक मकालु हिमाल आरोहण गर्न सहज भएको र सामान्यतया एक पटक त्यो हिमाल आरोहण गर्न एक महिना भन्दा बढी समय लाग्ने आरोही शेर्पाले बताउनुभयो । हिमाल अरोहणबाट लगातार ख्याति कमाउदै आएका ३० बर्षीय युवा आरोही शेर्पाले एकपछि अर्को कीर्तिमान कायम गर्दै आउनुभएको छ । शेर्पाले २० बर्षको उमेरदेखि हिमाल आरोहण गर्दै आउनुभएको हो । उहाँ हालसम्म आठ हजार माथिका हिमाल १४ पटक पुगीसक्नु भएकोछ । उहाँलाई सङ्खुवासभाका जनताले मकालु लाक्पाको नाम दिएका छन् ।

लाक्पाले यो भन्दा पहिले मकालु-२ पटक, सगरमाथा-१ पटक, मनास्लु हिमाल-२ पटक, ल्होत्से-१ पटक आरोहणगरी सकेका छन् । सेभेन समिट ट्रेकिङ्गका फिल्ड मेनेजरसमेत रहनुभएका शेर्पाले बिश्वकै टेक्निकल हिमालको रुपमा रहेको माउन्ट आमादब्लमको ६ पटक सफल आरोहण गरीसक्नु भएको छ।

यसमा तपाइको मत

अन्य समाचार