काठमाडौं,
असार ७ ।
इन्जिनियर आकर्षण पोखरेलले काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कपनको साततलेस्थित खुला सडकमा मंगलबार विहान एक समारोहबीच पोखरेलले उम्मेदवारी घोषणा गर्नुभएको हो ।
काठमाडौं ४ मा हाल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सांसद रहनुभएको छ । थापालाई चुनौती दिँदै पोखरेलले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
उम्मेदवारी घोषणा गर्दै पोखरेलले नतिजा भविष्यमा जस्तोसुकै आए पनि राजनीतिमा आफू नहार्ने जिकिर गर्नुभयो । ‘किनकि यसका लागि मसँग योजना, योग्यता, क्षमता, विशेषज्ञता र विवेक छ’, उहाँले भन्नुभयो, ‘मेरो टिमले विगत पाँच वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सुशासन तथा विकासमा अध्ययन, अवलोकन तथा अनुभव गरिरहेको छ ।’
यस क्षेत्रमा विद्यमान समस्याहरू शिक्षा, स्वास्थ्य, खानेपानी, सडक/ट्राफिक व्यवस्थापन, ढल तथा डुवान, पुल तथा खोला/खहरे व्यवस्थापनलगायतका समस्याको एउटा मार्गचित्र तयार गरेर समाधान खोज्ने उहाँको प्रतिबद्धता छ । आम नागरिक र विषय विज्ञसँगको सहकार्यमा समाधान खोज्ने उहाँको योजना छ ।
देशका लागि दश विकल्प, अब निर्विकल्प भन्ने सोंचका साथ चाँडै घोषणापत्र सार्वजनिक गर्ने पोखरेलले बताउनुभयो । ‘परिवर्तन अपरिहार्य छ, पर्खिनु विकल्प होइन’, उहाँले भन्नुभयो, ‘आजदेखि सुरुवात भएको छ ।’
उम्मेदवारी घोषणा कार्यक्रममा इन्जिनियर पोखरेललाई समर्थन जनाउन नायक आर्यन सिग्देल, गायक मानस राज, नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेललगायत विभिन्न क्षेत्र प्रबुद्ध र विज्ञ व्यक्तित्वहरूको सहभागिता थियो ।






