काठमाडौं,
जेठ १८ ।
दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन भन्ने नाराका साथ विश्व दूध दिवस २०७९ मनाइने भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले सरोकारवाला निकायसँगको सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको हो ।
बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ तथा नेपाल डेरी साइन्स एसोसिएसनको सहयोगमा वृद्धाश्रमका वृद्धवृद्धालाई दुग्धपान कार्यक्रम आयोजना गरिएको बोर्डले जनाएको छ ।
आमनागरिकलाई दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउने उद्देश्यले नेपालले सन् २०११ देखि विश्व दूध दिवस मनाउन सुरु गरेको हो । सातै प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रादेशिक दुग्ध विकास बोर्ड, पशुसेवा विज्ञ केन्द्र, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध उद्योगलगायतका सरोकारवाला निकायले विश्व दूध दिवस मनाउने कार्यक्रम रहेको बोर्डले जनाएको छ ।
बुधबार ललितपुरमा विश्व दुग्ध दिवसका अवसरमा औचारिक कार्यक्रम हुने बोर्डका निर्देशक डा. बालक चौधरीले जानकारी दिनुभएको छ । बोर्डका अनुसार आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आव २०७६/०७७ मा आयात २०.९७५ प्रतिशतले बढेको छ ।






