वीरगञ्ज,
जेठ १० ।
वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंह विजयी हुनुभएको छ । महानगरका ३२ वटै वडाको मंगलबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार मेयरमा गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान विजयी हुनुभएको हो ।
नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान मेयर विजय सरावगीलाई २२ हजार ५४४ मतको फराकिलो अन्तरले पराजित गर्दै राजेशमान मेयरमा निर्वाचित हुनुभएको हो ।
राजेशमानले ४६ हजार २१५ मत पाउँदा एमालेका सरावगीले भने २३ हजार १७१ मत प्राप्त गर्नुभएको छ । राप्रपाका उम्मेदवार गिरिश गिरीले तीन हजार ३१३ मत पाउनुभएको छ ।
उपमेयरमा पनि गठबन्धनकै साझा उम्मेदवार इम्तियाज आलम विजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झालाई तेब्बरभन्दा बढी मत अन्तरले पराजित गर्दै गठबन्धनबाट कांग्रेसका उम्मेदवार आलम उपमेयरमा निर्वाचित हुनुभएको हो ।






