‘चिसो एष्ट्रे’ अष्ट्रेलियाका लागि बिक्री

काठमाडौं,
फागुन २९ ।

यही शुक्रबार (चैत ४) गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अष्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार २७ लाख रुपैयाँमा बिक्री गरेको जनाइएको छ ।

कंगारु क्रिएसनका प्रमुख तथा ‘चिसो एष्ट्रे’ चलचित्रका निर्माता महेशबाबु तिमिल्सिनाले कमेरोले ३० हजार अष्ट्रेलियन डलर (नेपाली २७ लाख बराबर) मा प्रदर्शन अधिकार लिएको जनाउनु भएको छ । कमेरोका सुरज सुवेदी र निर्माता महेशबीच चलचित्र प्रदर्शन गर्ने सम्बन्धमा औपचारिक सम्झौतासमेत सम्पन्न भइसकेको छ ।

‘चिसो एष्ट्रे’ले बाँकी नेपाली चलचित्रले भन्दा बढी पैसा पाएको हो । चलेका तथा राम्रा मानिएको व्यानरले पनि यसअघि बढीमा २० लाखसम्म पैसा पाएका थिए । निर्माता महेशबाबुले आफूहरूको आधार क्षेत्र अष्ट्रेलिया नै रहेकाले उठाउने आत्मविश्वासका साथ कमेरोले लगानी गरेको हुनसक्ने बताउनुभयो ।

दिन्स पाल्पालीको लेखन तथा निर्देशन रहेको चलचित्रले ट्रेलर सार्वजनिकीकरणपछि राम्रो चर्चा पाइरहेको छ । चलचित्रको टोन, कलाकारको अभिनय, छायांकन तथा भूपि शेरचनको कविताको भावलाई पर्दामा उतार्ने जमर्को गरेको भन्दै फिल्मको प्रशंसा भइरहेको छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त व्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गर्नुभएको हो । निर्माणमा भने महेश बाबुलाई प्रवीन स्याङ्बा र सुष्मिता पराजुलीले सघाउनु भएको छ । चलचित्रको सह निर्मातामा भने रूपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा रहनुभएको छ ।

चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नवीन लम्साल, सुशील पाण्डे, रविन तामाङ आदि कलाकारको अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार