काठमाडौं,
फागुन २६ ।
चलचित्र ‘परदेशी-२’ आउँदो वर्ष (०७९) को दशैँमा प्रदर्शन हुने भएको छ । बुधबार निर्माण टिमले चलचित्रको पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
नारायण इन्टरनेशनल प्रालिको व्यानरमा निर्माण भएको चलचित्र परदेशमा रहने नेपालीको कथासँग जोडिएको छ । यसअघिको चलचित्र ‘परदेशी’ सुपरहिट भएको चलचित्र हो । दोस्रो सिक्वेलको रूपमा रहेको यो चलचित्रलाई पनि दर्शकले विशेषरूपमा हेरेका छन् । चलचित्रको निर्माण टिम, कथा र कलाकारका कारण पनि चलचित्र प्रतिक्षित बनेको छ । चलचित्रमा लगानी राजेश वंशल र नारायण रायमाझीको छ ।
सार्वजनिक पोष्टरमा चलचित्रमा शीर्ष भूमिकामा रहनुभएका कलाकार प्रकाश सपुत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा शिवाकोटीलाई प्रस्तुत गरिएको छ । चलचित्रबारे निर्माता राजेश वंशलले भन्नुभयो, ‘परदेशीले चाडपर्वमा आफ्नो गाउँ, परिवारलाई अझ बढी सम्झन्छन् र यो चलचित्र परदेशीकै कथा-व्यथा भएकाले प्रदर्शनका लागि दशैँलाई रोज्नुपरेको हो ।’
रमेश बिजीको कथा रहेको चलचित्रमा प्रकाश, दीलिप, प्रशान्त, केकी र वर्षाका साथमा नीर शाह, सुशील पोख्रेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, रोशनी कार्की, देवेन्द्र बब्लुलगायतका कलाकारको अभिनय छ । अत्यन्तै प्रतिकूल समयमा पनि दर्शकको अत्यधिक माया पाएका ‘गोर्खापल्टन’ र ‘परदेशी’ चलचित्रपछि नारायण इन्टरनेशनल प्रालिको व्यानरमा ‘परदेशी-२’ निर्माण भएको हो । चलचित्र नारायण रायमाझीले निर्देशन गर्नुभएको छ ।
‘विगतका चलचित्रमा देखिएका तर दर्शकको मायाले छोपिएका प्राविधिक, साङ्गीतिकलगायत कमीकमजोरीलाई यो चलचित्रमा मसिनो गरी केलाउन पाएका छौं’, निर्देशक रायमाझीले भन्नुभयो, ‘विगतका दुई चलचित्रहरूको दाँजोमा ‘परदेशी-२’ अझ राम्रो, नेपाली दर्शकले आत्मसाथ गर्ने चलचित्र बनेको छ ।’ बिबि अनुरागीको सङ्गीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रका गीतमा नारायण रायमाझी, प्रशान्त तामाङ, निशान भट्टराई, प्रताप दास, मीना निरौला, टीका पुन, देवी घर्ती, थानेश्वर गौतम, जय देवकोटा लगायतले स्वर दिनुभएको छ । सुदीप कुँवरको सहनिर्देशन रहेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ । चलचित्रमा ईश्वर घिमिरे÷रामहरि डंगोलको पोष्ट प्रोडक्सन, मनोज श्रेष्ठको भिएफएक्स, राजेन्द्र मोक्तानको कलर, श्यामश्वेत रसाइलीको गीत तथा साउण्ड मिक्सिङ छ ।






