काठमाडौं,
फागुन २५ ।
चलचित्र ‘हेल्लो जिन्दगी’को गीत ‘कता कता’ सार्वजनीक भएको छ । चैत्र ११ गते (मार्च २५) प्रदर्शन हुने चलचित्रको गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर, एभरेष्ट सूर्य बोहराको शब्द र एलिस कार्कीको सङ्गीत छ । बलिउडका कोरियोग्राफर बिष्णु देवाले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता बिक्रम डि जोशी र अभिनेत्री दीपीका प्रसाईं फिचर हुनुहुन्छ ।
युकेका बिभिन्न रमणीय स्थानमा खिचिएको गीतमा प्रेमी जोडीको प्रेमाभाव प्रस्तुत गरिएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशीत चलचित्रमा बिक्रम र दीपीकाका साथमा प्रियंका कार्की, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, निर्देशक बोहरा स्वयम्, सबिता गुरुङ, सनमकुमार बैराग, बिभिया श्रेष्ठ, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्त लगायतको अभिनय छ ।
सत्य घटनाबाट प्रभावीत चलचित्रको निर्माता बिक्रम डि जोशी र हिराल जोशी हुनुहुन्छ भने कार्यकारी निर्मातामा सृजना जोशी महर्जन अनि सहनिर्मात्रीमा सबिता गुरुङ हुनुहुन्छ । महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रमा डि क्रिएटिभ स्टुडियो, युके र काम्मा इन्टरटेन्मेन्ट, इन्डिया लाइन प्रोड्युसर छन् ।
निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा, निर्देशक बोहरासहित अभिमन्यु निरवीको पटकथा/सम्वाद रहेको चलचित्र पुरुषोत्तम प्रधानले खिचेका हुन् । राजनराज शिवाकोटी र एलिस कार्कीको सङ्गीत रहेको चलचित्रको गीतकार पनि निर्देशक बोहरा स्वयम् हुनुहुन्छ । आरआर फिल्मस्ले बितरण गर्ने चलचित्रमा सम्राट बस्नेतको द्वन्द्ध निर्देशन र मित्र डि.गुरुङको सम्पादन छ ।






