काठमाडौं,
फागुन १९ ।
चलचित्र ‘बाबरी’ आउँदो वर्षको भदौ अन्तिममा प्रदर्शन हुनेभएको छ । सुरेन्द्र पौडेल निर्देशित यो चलचित्र भदौको ३१ गते प्रदर्शन हुने निर्माण टिमले जनाएको छ । चलचित्रमा धीरज मगर, अदीति बुढाथोकी र धीरज नाडकरको मुख्य भूमिका रहेको छ । मंगलबार महाशिवरात्रीको अवसर पारेर निर्माण टिमले चलचित्रको एक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको हो ।
चलचित्रको सार्वजनिक पोष्टरमा मुख्य तीन पात्रको क्यारेक्टर नाम पनि चिनाइएको छ । चलचित्रमा अदीति विजेता, धीरज मगर विक्रान्त र धीरज नाडकर रोनिश बन्नुभएको छ । बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रको कथा निर्देशक पौडेलले नै लेख्नुभएको हो । पुष्पा अधिकारी निर्माता रहेको सिनेमाको सहनिर्मातामा सुष्मा गुरुङ हुनुहुन्छ ।
क्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका रमणीय स्थानमा सिनेमाको छायांकन गरिएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रका मुख्य सहायक निर्देशक रितसिंह बोहरा हुनुहुन्छ ।






