काठमाडौं,
माघ १३ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू-भागमा हुस्सु र कुहिरो लागिरहेको छ ।
आज दिउँसो प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
वर्षा र हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।






