काठमाडौं,
पुस १९ ।
नेकपा माओवादी केन्द्रका नवनिर्वाचित २३६ केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।खललितपुरको एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सोमवार केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत केन्द्रीय सदस्यलाई शपथ खुवाइएको माओवादी पार्टीको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो ।
पदाधिकारी चयन गर्न भन्दै बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक प्रचण्डलाई अध्यक्ष निर्वाचित गर्दै सकिएको छ । महासचिवका आकांक्षी धेरै भएपछि माओवादीले सोमवार पदाधिकारी चयन गर्न नसकेको हो ।
माओवादी केन्द्रीय सदस्य कृष्णबहादुर महराले पदाधिकारीको विषयमा थप होमवर्क गर्नुपर्ने भएकाले बैठक २५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो ।
‘पदाधिकारीका लागि थप होमवर्क गर्नुपर्ने भयो । केही कमरेडबाहिर रहेकाले पनि सहमतिका लागि केही दिन समय लिने कुरा भएको छ,’ महराले भन्नुभयो ।






