काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

काठमाडौं,
पुस १४ ।

काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आज (बुधबार) बिहान वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको हो । वर्षा र हिमपातसँगै चिसो झनै बढेको छ ।

दिउँसो पनि मौसम प्रतिकूल हुने आँकलन गरिएको छ । दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको आँकलन गरिएको छ ।

महाशाखाका अनुसार आज राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहनेछ ।

अहिले सक्रिय रहेको मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई-यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार