‘फिच्यो’को विशेष प्रदर्शन हुने

काठमाडौं,
मंसिर २७ ।

चलचित्र ‘फिच्यो’ अर्थात् ‘कान्छी छोरी’को विशेष प्रदर्शन हुने भएको छ । सार्वजनिक प्रदर्शन अगाडि चलचित्रको नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताउनुभएको छ ।

‘स्वदेश तथा विदेशबाट चलचित्रको माग भइरहेको छ’ निर्देशक विकाशले भन्नुभएको छ, ‘चलचित्रको रिलिज माहौल बन्न नसकेकाले केही विशेष प्रदर्शन गर्न लागेका हौं ।’ चलचित्र नेपाली, अंग्रेजी र गुरुङ गरेर तीन भाषामा निर्माण भएको छ ।

विकासका अनुसार गुरुङ र तमुहरूको महान चाड ल्होसारको अवसर पारेर पुस ३ गते काठमाडौंको रानीदेवी पार्टी प्यालेस र यही अवसर पारेर अमेरिकामा युनाइटेट गुरुङ एसोसियसन अफ अमेरिका (युजिएसए)ले चलचित्रको विशेष प्रदर्शन गर्न लागेको हो । विशेष प्रदर्शनमा सबैलाई सहभागी हुनु विकासले अनुरोधसमेत गर्नुभएको छ ।

चलचित्रमा विश्वास गुरुङ, इन्द्र घले (काशी), टीकाराम घले, सीतादेवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुवेदार मन्त्री जङ गुरुङ, अञ्जना गुरुङ, पेम्बा छिरिड शेर्पा, सिर्जना गुरुङ, बिरुप घलेलगायतको अभिनय छ ।

गुरुङ समुदायको रीतिरिवाज, भेषभूषा, चालचलनसहितको कथावस्तु बोकेको चलचित्र स्वदेशका आकर्षक लोकेसनमा छायांकन भएको छ । विषयवस्तु र कथा-पात्र सुष्म रूपले केलाएर प्रस्तुत गर्ने निर्देशक विकासले चलचित्र आमनेपाली सबैको रुचिलाई ध्यानमा राखेर निर्माण भएको बताउनुभयो ।

रेड ओसियन इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको चलचित्र निर्देशक विकासले लेख्नुभएको हो । प्रकाश गुरुङ (काश)का छायांकन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत छ । चलचित्रमा लेखन, निर्देशन तथा सम्पादन विकाश घलेकै छ । चलचित्र नृत्य गोरे गुरुङको छ ।

शान्ति माया गुरुङ (युएसए), मन्त्री जङ गुरुङ, बुद्धिमाया गुरुङ (ईराक)र अभिनाश यम.जी (मांगसुम) निर्माता रहेको चलचित्रले बिग्रँदो सामाजिक परिस्थितिले कर्मठ र जेहेन्दार युवालाई कसरी असर पुर्‍याउँछ भन्ने देखाउन खोजिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार